गायत्री थापा, दक्षिण कोरिया – नाजुस्थित Dongshin University मा अध्ययनरत २५ जना विदेशी विद्यार्थीहरूलाई दक्षिण कोरियाको आप्रवासन विभागले पक्राउ गरेको छ। घटना हालैको मार्च इन्टेकमा आएका नयाँ विद्यार्थीहरूबीच भएको हो।
प्राप्त जानकारीअनुसार ती सबै विद्यार्थीहरू डोङसिन विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिए। उनीहरू विश्वविद्यालयको नियमित कक्षा पश्चात कृषि क्षेत्रमा काम गरेर फर्किने क्रममा एक निजी एजेन्टद्वारा सञ्चालित सवारी साधनमा यात्रा गरिरहेका थिए। त्यस क्रममा आप्रवासन अधिकारीहरूले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
स्थानीय अधिकारीहरूले बताएका अनुसार ती विद्यार्थीहरू कानूनी सीमाभन्दा बाहिर काममा संलग्न भएको आशङ्कामा पक्राउ गरिएको हो। कोरियन अध्यागमन कानुनअनुसार अध्ययन भिसामा सीमित घण्टासम्म मात्र काम गर्न पाइन्छ, तर ती विद्यार्थीहरू अनुमति सीमाभन्दा बाहिर काम गरिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ।
यस घटनापछि विद्यार्थी समुदायमा ठूलो त्रास फैलिएको छ। धेरै विदेशी विद्यार्थीहरूले यस्ता घटनाले आफूहरू सुरक्षित नरहेको महसुस भएको प्रतिक्रिया दिएका छन्।
हाल पक्राउ परेका विद्यार्थीहरूलाई आप्रवासनको हिरासतमा राखिएको छ र घटनाको थप अनुसन्धान जारी छ। यसैबीच, विश्वविद्यालय प्रशासन र सम्बन्धित अन्तर्राष्ट्रिय विद्यार्थी संघ (SONSIK) ले विद्यार्थीहरूलाई आवश्यक कानुनी सहायता र सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन !






