मनोज भुसाल/दक्षिण कोरिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन दक्षिण कोरियाको राजधानी सउल स्थित दोङदेमुनमा सम्पन्न भएको छ ।
अधिवेशनले लोकराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा सरोज भण्डारी, उपाध्यक्ष धिरेन्द्र स्पन्दन, महासचिवमा राजेश सुवेदी, सचिवमा – विजयता भण्डारी र कोषाध्यक्षमा – राज विसर्जन रहनुभएको छ ।
समाजका सक्रिय सदस्यहरूमा दीपकराज बन्जाडे, आर पि सि संगम, रुशन सुवेदी, सुमन तिमिल्सिना, डिईबी सिकारु र प्रदिप कुमार गणेश रहनुभएको छ ।
अधिवेशनकै सन्दर्भमा बृहत रचना वाचन तथा कविता संग्रह “यौवन हराएको मान्छे“को लोकार्पण पनि गरिएको छ । दक्षिण कोरिया स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।
संस्थाका सल्लाहकार तथा दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका साहित्यकार जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार एवं साहित्यकार आर एन अधिकारी, संस्थाका सल्लाहकार एवं साहित्यकार मोहन कार्की, साहित्यकार दिपा मेवाहाङ, साहित्यकार मुना कार्की, सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष श्याम अर्याल, प्रतिनिधि दुर्गा कुँवर, इतर अभियान्ता मातृहाङ नेङ्बाङ, लुम्बिनी प्रदेश समाज का उपाध्यक्ष विज्ञान अर्याल, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका महासचिव विदुर शर्मा लगायतको सहभागिता रहेको थियो ।
दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका कवि डिइबी सिकारुको कवितासंग्रह “यौवन हराएको मान्छे“को लोकार्पण गर्दै अतिथिहरुले कवि सिकारुलाई सफल साहित्य यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशेष वाचकको रुपमा रहनुभएका गजलकार दिप प्रदिप कुमार, कवि भरत खत्री र मुक्तककार सञ्जय घिमिरेले आफ्ना सृजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा कवि इ गिजु मुना कार्कीले कोरियन कवि यून दोङजुको कविता तारालाई पर्खदैँ शिर्षकमा अनुवाद कविता सुनाउनुभएको थियो । यसैगरी अन्य वाचकहरु सरोज सर्वहारा, रामचन्द्र शर्मा, निर्दोष शिव, शुसिल अर्याल, राज विसर्जन, आरपिसी संङ्गम, विनेश राई मिन्जाई, सेसेफुङ, बाबु बलिन्द्र योङहाङ, रुशन सुवेदी, राजेश सुवेदी, जीवन भण्डारी, जितेन चाम्लिङ, धिरेन्द्र स्पन्दन, नरेन्द्र मलिम्लाल, मानकाजी शाक्य लगायतले आआफ्ना कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनको बन्द सत्रमा संस्थाका महासचिव लोकराज न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुशील अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका सल्लाहकार तथा साहित्यकार आर एन अधिकारीको संयोजकत्वमा संस्थाका सल्लाहकार जीवन खत्री तथा साहित्यकार दिपा मेवाहाङ सदस्य रहनुभएको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन प्रक्रियामार्फत सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
नवनिर्वाचित कार्यसमिति अध्यक्ष लोकराज न्यौपानेलाई निर्वाचन समिति संयोजक आर एन अधिकारले सपथ ग्रहण गराँउनुभएको थियो भने अध्यक्ष न्यौपानेले कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
संस्थाका अध्यक्ष ह्यारी बोन्डको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव लोकराज न्यौपानेले गर्नुभएको थियो ।