दक्षिण कोरियामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित तीन राजनीतिक नेतासँग संयुक्त अन्तरक्रिया हुने

0
2

सोल, दक्षिण कोरिया। दक्षिण कोरियामा क्रियाशील तीन नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिमा संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

प्रवासी नेपाली सम्पर्क विभाग दक्षिण कोरिया, प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरिया र अन्तर्राष्ट्रिय नेपाली मञ्च दक्षिण कोरियाको संयुक्त आयोजनामा नोभेम्बर ८ तारिख आइतबार सोलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाली कांग्रेसका सचिव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य मनिष झा को विशेष सहभागिता रहने आयोजकले जनाएको छ।

नेपालको समसामयिक राजनीतिक परिवेश, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय विकासका चुनौती तथा प्रवासमा रहेका नेपाली समुदायका साझा सरोकारका विषयमा सार्थक संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोजकका अनुसार कार्यक्रममा नेपालको राजनीतिक परिवर्तन, लोकतान्त्रिक आन्दोलन, राज्य सञ्चालनका अनुभव, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि तथा प्रवासी नेपालीका हकहित र अधिकारका विषयमा खुला छलफल गरिनेछ।

विशेषगरी दक्षिण कोरियालगायत विश्वका विभिन्न मुलुकमा श्रम, सीप, ज्ञान, पुँजी र अनुभव आर्जन गरिरहेका नेपालीहरूको योगदानलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा समेत विचारविमर्श हुने जनाइएको छ।

फरक राजनीतिक विचारधारा र संगठनात्मक पहिचान भएका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर आपसी सम्मान, सहकार्य र एकताको सन्देश प्रवाह गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।

राजनीतिक विचार, सिद्धान्त र संगठनात्मक पहिचान फरक हुन सक्ने भए पनि नेपालको राष्ट्रिय हित, प्रवासी नेपालीका साझा सरोकार, लोकतान्त्रिक संस्कार र समुन्नत भविष्यप्रतिको प्रतिबद्धतामा संवाद र सहकार्यको सम्भावना सधैँ रहने आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम नोभेम्बर ८ तारिख आइतबार दिउँसो १ बजेदेखि सोलको जोङ्नोस्थित MG 새마을금고 भवनको पाँचौँ तलामा आयोजना हुनेछ।

संयुक्त प्रेस विज्ञप्तिमा प्रवासी नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका अध्यक्ष युविन श्रेष्ठ, प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरियाका अध्यक्ष अञ्जन कुलुङ राई र अन्तर्राष्ट्रिय नेपाली मञ्च दक्षिण कोरियाका संयोजक जीवन खतिवडा ले हस्ताक्षर गरेका छन्।

आयोजक संस्थाहरूले दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, विद्यार्थी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्।

फरक राजनीतिक पृष्ठभूमिका नेताहरूको एउटै मञ्चमा हुने सहभागिताले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्