दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको पहलमा नेपाललाई विश्व पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउने १७ सेकेन्ड लामो प्रवर्द्धनात्मक भिडियो कोरियाको सबैभन्दा व्यस्त र आधुनिक रेल सेवा KTX मा प्रदर्शन भइरहेको छ। सउल–बुसान रुटमा सञ्चालन हुने KTX हाई–स्पीड ट्रेन नम्बर १०१ मा उक्त भिडियो सन् २०२६ फेब्रुअरी १ देखि नियमित रूपमा देखाइँदै आएको हो।
कोरियाका हजारौँ यात्रुहरूले दैनिक प्रयोग गर्ने यस हाई–स्पीड ट्रेनमा नेपालको दृश्यावलोकन प्रस्तुत हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। भिडियोमा शान्तिका प्रतीक लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, जैविक विविधताले भरिपूर्ण चितवन राष्ट्रिय निकुञ्ज, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेका स्वयम्भूनाथ र बौद्ध स्तूपका मनमोहक दृश्यहरू समेटिएका छन्। साथै नेपाली कला, संस्कृति, परम्परा र जीवनशैलीलाई झल्काउने आकर्षक क्लिपहरूले नेपाललाई प्रकृति, संस्कृति र अध्यात्मको अनुपम संगमका रूपमा प्रस्तुत गरिएको छ।A5EF9A11-2938-48CC-88B6-9C1DD86667AD
उक्त भिडियो स्क्रिनिङको प्रस्ताव महामहिम नेपाली राजदूतले पहिलोपटक सन् २०२५ अप्रिल १४ मा कोरेल (KORAIL) का प्रमुख कार्यकारी अधिकृतसँगको औपचारिक भेटका क्रममा अघि सार्नुभएको थियो। त्यसपछि इमेल तथा प्रत्यक्ष भेटघाटमार्फत निरन्तर कूटनीतिक पहल र फलोअपपछि कोरेल तथा योनहाप समाचार एजेन्सीको सहकार्यमा सन् २०२६ फेब्रुअरी महिनाभरि सउल–बुसान रुटका KTX ट्रेनहरूमा प्रतिदिन कम्तीमा दुईपटक उक्त भिडियो निःशुल्क रूपमा इन–ट्रेन स्क्रिनिङ गराउन राजदूतावास सफल भएको हो।
कोरियाको प्रमुख यातायात माध्यममार्फत नेपालको पर्यटन, संस्कृति र पहिचान प्रवर्द्धन हुनु दक्षिण कोरियाली नागरिक मात्र नभई विश्वभरका यात्रुहरूमाझ नेपालप्रतिको आकर्षण बढाउने महत्वपूर्ण अवसर बनेको छ। यस पहलले नेपाललाई सुरक्षित, सुन्दर र बहुआयामिक पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने अपेक्षा गरिएको छ।






