टेक्सासदेखि वासिङ्टन डी.सी.सम्म २,३०० माइलको पैदल यात्रा
विश्व शान्तिको कामना गर्दै टेक्सासबाट वासिङ्टन डी.सी.तर्फ २,३०० माइल लामो पैदल यात्रा गरिरहेका बौद्ध भिक्षुहरू आइतबार आफ्नो यात्राको ७९औँ दिन दक्षिण क्यारोलिनामा पुगेका छन्। उनीहरू जनवरी १५ मा नर्थ क्यारोलिनाको शार्लोट पुग्ने अपेक्षामा छन्।
“मौसम, व्यवस्थापन, सुरक्षा सम्बन्धी चिन्ता तथा अन्य अप्रत्याशित परिस्थितिका कारण निर्धारित मार्ग परिवर्तन हुन सक्छ।”
हाल दक्षिण क्यारोलिनाको लेक्सिङ्टनबाट कोलम्बियातर्फ १९ जना भिक्षु पैदल यात्रा गरिरहेका छन्। उनीहरूसँगै ‘अलोका द पिस डग’ नामक कुकुर पनि यात्रामा सहभागी छ, जसले यात्रालाई थप भावनात्मक र आकर्षक बनाएको छ। समूहले फेसबुकमार्फत सन्देश दिँदै भनेको छ,
“आज तपाईं जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ—आत्मिक रूपमा हामीसँगै हिँड्नुहोस्। तपाईंले लिने प्रत्येक सचेत श्वास र गर्ने प्रत्येक करुणामय निर्णयसँगै यो संसार अझ शान्त र सुन्दर बन्छ।”
भिक्षुहरूले आगामी दिनहरूमा पुग्ने सहरहरूको अनुमानित मिति पनि सार्वजनिक गरेका छन्। सार्वजनिक तालिकाअनुसार उनीहरू जनवरी २४ मा नर्थ क्यारोलिनाको राले, फेब्रुअरी १ मा भर्जिनियाको रिचमन्ड, फेब्रुअरी ५ मा फ्रेडरिक्सबर्ग हुँदै फेब्रुअरी ११ मा वासिङ्टन डी.सी. पुग्ने योजना रहेको बताएका छन्।
आफ्नो फेसबुक पेजमार्फत भिक्षुहरूले भनेका छन्,
“हामीसँगै हिँड्ने योजना बनाउनु भएकोमा धन्यवाद। तपाईं र सबै प्राणीहरू स्वस्थ, खुसी र शान्तिमा रहून्।”
यो लामो यात्राका क्रममा केही भिक्षुहरू नाङ्गो खुट्टै हिँडिरहेका छन्। चिसो मौसम र निरन्तर पैदल यात्राका कारण उनीहरूका खुट्टामा चिरा परेको देखिन्छ। यद्यपि, जहाँ–जहाँ उनीहरू पुगेका छन्, त्यहाँ स्थानीय सर्वसाधारण र सरकारी अधिकारीहरूले अभूतपूर्व स्वागत र सम्मान व्यक्त गरेका छन्। कतै परेवा उडाएर शान्तिको सन्देश दिइएको छ भने कतै फूल अर्पण गरी भिक्षुहरूलाई हौसला प्रदान गरिएको छ।
७९ दिनदेखि निरन्तर यात्रामा साथ दिइरहेको ‘अलोका द पिस डग’ पनि यो शान्ति यात्राको एक विशेष आकर्षण बनेको छ।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देशलाई आत्मसात् गर्दै बौद्ध भिक्षुहरूको यो शान्ति यात्रा विश्वभर करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउने प्रेरणादायी अभियानका रूपमा हेरिएको छ।






