अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर हिमालयन रिभर गाइड एसोसिएसन नेपालद्वारा आयोजित 1st Himalayan River Guide Association Kayak Championship–2026 भोलि पौष १८ गतेदेखि १९ गतेसम्म चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३, फिस्लिङ बजारस्थित त्रिशूली नदीको किनारमा आयोजना हुने भएको छ।
उक्त च्याम्पियनसिपमा स्वदेशी तथा विदेशी गरी करिब ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने जानकारी हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्व अध्यक्ष मानध्वज गुरुङले दिनुभयो।
नेपालमा कायक प्रतियोगिता अत्यन्तै लोकप्रिय खेलका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै उहाँले एसोसिएसनले प्रत्येक वर्ष राफ्टिङ तथा नदी खेलसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो।
च्याम्पियनसिपअन्तर्गत बोटर क्रस, फ्रिस्टाइल लगायतका प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिनेछन्। प्रतियोगितामा हेड–टु–हेड तथा समयको आधारमा विजेता छनोट गरिनेछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पनि पूर्व अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
यस च्याम्पियनसिपले नेपालमा साहसिक जलक्रीडाको प्रवर्द्धन तथा पर्यटन विकासमा थप टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।






