रवि लामिछाने र बालेन्द्र शाहबीच सहमति लगभग पक्का, एउटै राजनीतिक संरचनामार्फत चुनावमा जाने तयारी

0
94

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचन लक्षित राजनीतिक सहमति लगभग पक्का भएको स्रोतले जनाएको छ। केही दिनदेखि जारी सघन छलफलपछि दुवै पक्ष एउटै राजनीतिक संरचना वा मोर्चा बनाएर निर्वाचनमा सहभागी हुन तयार रहेको बताइएको छ।
बिहीबार ललितपुरको जुवागलमा भएको लामो छलफलमा लामिछानेले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्न सहमति जनाएको तथा बालेनले लामिछानेलाई पार्टी सभापति मान्ने समझदारी बनेको स्रोतको दाबी छ। सहकारीसम्बन्धी मुद्दामा विवादित भएकाले लामिछाने प्रधानमन्त्री पदका लागि अयोग्य हुन सक्ने निष्कर्षसँगै बालेनलाई दोस्रो वरीयताका आधारमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने तयारी भएको उल्लेख गरिएको छ।
यसबीच, कुलमान घिसिङलाई कस्तो जिम्मेवारी प्रदान गर्ने भन्ने विषयमा भने अझै सहमति कायम हुन बाँकी छ। साथै, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल तथा उपसभापति स्वर्णिम वाग्ले ले बालेनलाई प्रदान गरिएको प्राथमिकताप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ।
यता, दुवैबीच हुने सहमतिलाई औपचारिकता दिन सम्झौतापत्र (MoU) को मस्यौदा तयार गर्ने कार्य तीव्रगतिमा भइरहेको छ। मस्यौदामा पार्टी तथा सरकार नेतृत्वको मोडालिटी, समानुपातिक–प्रत्यक्ष सहभागिता विभाजन र आगामी निर्वाचन रणनीति समेटिने बताइएको छ। अन्तिम बुँदामा सहमति जुटेपछि आज साँझसम्म हस्ताक्षर प्रक्रिया सम्पन्न हुन सक्ने सम्भावना व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्