सउल, दक्षिण कोरिया नेपाली राजनीतिमा उदाउँदै गरेको जेन–जी (Gen-Z) पुस्ताको परिवर्तनकारी चेतना, पारदर्शिता र विधिमा आधारित नेतृत्व विकासलाई प्रवासमा समेत संस्थागत गर्ने उद्देश्यसहित नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशनको विस्तृत कार्यतालिका तथा जिम्मेवारी सार्वजनिक गरेको छ।
समितिका सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिएअनुसार, प्रवासमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने लक्ष्यसाथ आगामी सन् २०२६ जनवरी ०४ मा सउलमा केन्द्रीय महाधिवेशन आयोजना गर्न लागिएको हो। यस महाधिवेशनलाई उहाले नयाँ पुस्ताको ऊर्जा र अनुभवी नेतृत्वको संयोजनको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशन कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरणको अन्तिम मिति सन् २०२५ डिसेम्बर १४ (राति १२ बजेसम्म) तोकिएको छ। त्यसपछि सदस्यता जाँचबुझ तथा छानबिन डिसेम्बर १७ सम्म सम्पन्न गरी अन्तिम नामावली डिसेम्बर १८ मा केन्द्रमा पठाइनेछ। साधारण सदस्यता वितरण डिसेम्बर २१ सम्म, क्षेत्रीय अधिवेशन डिसेम्बर २८ मा हुनेछन् भने केन्द्रीय महाधिवेशन जनवरी ०४, २०२६ मा सउलमा सम्पन्न हुनेछ।
निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न गठित निर्वाचन समितिको संयोजकमा डा. ईश्वर धामी र सदस्यमा हिरा लामा चयन हुनुभएको छ। एक जना सदस्य पछि मनोनयन गरिने सभापति क्षेत्रीले बताउनुभयो।
त्यसैगरी संगठनलाई समयसापेक्ष र विधिसम्मत बनाउने उद्देश्यले गठन गरिएको विधान समितिको संयोजकमा डा. ज्ञानराज कोइराला र सदस्यमा डा. संगिता कार्की रहनुभएको छ। उक्त समितिमा पनि एक जना सदस्य पछि थपिने जनाएको छ।
डिसेम्बर २८ मा हुने क्षेत्रीय अधिवेशनहरू सफल बनाउन विभिन्न क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइएको छ। सउल क्षेत्रमा प्रेम सागर पौडेल, उइजम्बुमा प्रकाश थापा र यामु थापा, इन्छनमा सुरेश उप्रेती, सुवन–आनसानमा चन्द्र राना, छनान–फेन्तेकमा दिलबहादुर मडौ, थेगुमा नविन्द्र दाहाल र गोविन्द अधिकारी, बुसानमा हिमाल पौडेल तथा जिन्छनमा खेमराज देवकोटा तोकिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो सभापति क्षेत्रीले कोरियामा रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीलाई तोकिएको समयभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिएर जेन–जी युग सुहाउँदो पारदर्शी, आधुनिक र गतिशील संगठन निर्माणको अभियानमा सहभागी हुन हार्दिक अपिल गर्नुभयो।






