टोकियोमा जारी 2025 DEAFLYMPICS श्रवण तथा बोलीविहीन (Deaf) खेलाडीहरूको विश्वकै उच्चतम स्तरको ओलिम्पिक प्रतियोगिता—मा कोरियाका दुई खेलाडीले कराते इभेन्टमा शानदार प्रदर्शन गर्दै दुईवटा कांस्य पदक जितेका छन्।
यी दुवै खेलाडीलाई दीर्घ समयदेखि प्रशिक्षण दिँदै आएका नेपाली कराते खेलाडी तथा प्रशिक्षक जमानसिंह गुरुङले आफ्नो शिष्यहरूले डेफलिम्पिक्सजस्तो प्रतिष्ठित ओलिम्पिक स्तरको मञ्चमा पदक हात पारेपछि अत्यन्तै गर्व र खुसी व्यक्त गरेका छन्। 
प्रशिक्षक गुरुङका अनुसार प्रारम्भिक तयारीदेखि अन्तिम प्रतिस्पर्धासम्म निरन्तर गरिएको मेहनत, अनुशासन र समर्पणले नै आज पदकको रूपले फल दिएको हो।
उनले भावुक हुँदै भने —
“आफैले प्रशिक्षण दिएका खेलाडीहरूले विश्वकै ठूलो ‘DEAFLYMPICS ’ मञ्चमा पदक जितिदिँदा म अत्यन्त गर्वित भएको छु। यो केवल मेरो मात्र होइन, मेहनत गर्ने खेलाडीहरूको ठूलो उपलब्धि हो।”
टोकियोमा कोरियाली खेलाडीहरूले प्रदर्शन गरेको आत्मविश्वास, दृढता र प्रतिबद्धताले कोरिया र नेपाल दुवै देशलाई कराते खेलमार्फत गौरवान्वित बनाएको प्रशिक्षक गुरुङको भनाइ छ।
डेफलिम्पिक्समा हासिल भएको यो उपलब्धि खेलाडीहरूको व्यक्तिगत सफलता मात्र नभई प्रशिक्षक जमानसिंह गुरुङको समर्पण, टेक्निकल कौशल र निरन्तर प्रयासको प्रस्ट प्रमाण बनेको छ।







