कोरियामा रहेका नेपालीका लागि ‘वृहत अन्तरक्रिया कार्यक्रम’ हुदै

0
84

सियोल। कोरियामा बसोबास गर्ने नेपाली समुदायका लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया र नेपाली विद्यार्थी समाज (SONSIK), दक्षिण कोरियाले संयुक्त रूपमा ‘वृहत अन्तरक्रिया कार्यक्रम’ आयोजना गर्ने भएका छन्।

आयोजक संस्थाहरूका अनुसार कार्यक्रम डिसेम्बर ७, २०२५ (आइतबार) दिउँसो १२:०० बजेबाट
서울특별시 종로구 창신길 51, 5층 (창신동) मा हुने छ।

यस कार्यक्रमलाई कोरियामा रहेका प्राध्यापक, श्रमिक, विद्यार्थी, पेशाकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवाला नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर समस्या सुन्ने, सुझाव आदान–प्रदान गर्ने र समाधानको बाटो खोज्ने माद्यम बन्ने बिश्वासका साथ आयोजना गरिएको एनआएनका अध्यक्ष बिपिन गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य फोकस कोरियामा बसोबास तथा कार्यरत नेपालीहरूले कार्यस्थलभित्र र बाहिर भोगिरहेका कानुनी, श्रम, भिसा, अधिकार र जिम्मेवारीसम्बन्धी वास्तविक समस्याहरूमा रहनेछ।

यसका लागि कानूनी व्यवसायी, सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला अधिकारीस्तरका व्यक्तिहरूको पनि सहभागिता रहने जनाएको छ। उनीहरूले कोरियाली कानुन, श्रम ऐन, भिसा प्रक्रिया, करारपत्र, बीमा, दुर्घटना, ठगी वा शोषणजस्ता संवेदनशील विषयमा व्यावहारिक जानकारी, मार्गदर्शन र सम्भावित समाधानका उपाय प्रस्तुत गर्नेछन्।

कार्यक्रममा सहभागी जो–कोही व्यक्तिले आफ्नो व्यक्तिगत वा समूहगत समस्या प्रत्यक्ष रुपमा राख्न, जिज्ञासा सोध्न तथा विशेषज्ञसँग सल्लाह लिन सक्नेछन्।

सम्बन्धित निकाय वा व्यक्तिसम्म समस्या पुर्‍याउन नसकेका, प्रक्रिया बुझ्न गाह्रो भइरहेको, भिसा, करार, ओभरटाइम, ज्याला, दुर्घटना क्षतिपूर्ति, आव्रजनसम्बन्धी जटिलतासहितका मुद्दामा दोधारमा परेका नेपालीहरूका लागि यो कार्यक्रम खुला परामर्श मञ्चका रूपमा रहने आयोजकहरूको भनाइ छ।

आवश्यकता र संवेदनशीलताअनुसार विशेषज्ञहरूले व्यक्तिगत रूपमा पनि मार्गदर्शन र सहयोग गर्ने व्यवस्था मिलाइने एनआरएनए एनसीसी कोरिया र SONSIKले जानकारी दिएका छन्।

कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकहरूले हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–दक्षिण कोरिया
र नेपाली विद्यार्थी समाज (SONSIK), दक्षिण कोरियाको संयुक्त आयोजना हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्