सिओल, दक्षिण कोरिया । ‘सामसुङ ग्लोबल कोरियन ल्यान्ग्वेज स्पिकिङ कन्टेस्ट २०२५’ (Samsung Global Korean Language Speaking Contest 2025) सेप्टेम्बर १५ बाट सुरु भएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। 
यस प्रतियोगितामा कोरियामा कार्यरत विभिन्न देशका श्रमिकहरूले सहभागिता जनाएका थिए। पहिलो चरणमा E-9 र E-7 भिसा श्रेणीअन्तर्गतका ३,२४५ जना विदेशी श्रमिकहरूले परीक्षा दिएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ३० जना दोस्रो चरणमा छनोट भए। दोस्रो चरणमा उनीहरूले कोरियन भाषा र प्रस्तुतिको आधारमा ‘स्पिकिङ’ प्रतिस्पर्धा गरेका थिए।
त्यसपछि अन्तिम चरणमा १४ जना फाइनलिस्ट छनोट गरिए, जसले पुनः एक पटक कम्पनीको ‘सुरक्षा (Safety)’ र ‘गुणस्तर (Quality)’ विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
फाइनलमा उत्कृष्ट प्रस्तुति दिएका विजेताहरूलाई प्रमाणपत्र र ₩300,000 (तीन लाख वोन) पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको आयोजना सामसुङ हेभी इन्डस्ट्रीज (SHI) द्वारा गरिएको हो, जसको उद्देश्य कम्पनीमा कार्यरत विदेशी श्रमिकहरूको कोरियन भाषा दक्षता र आत्मविश्वास वृद्धि गर्नु रहेको बताइएको छ।
कार्यक्रममा व्यवस्थापक, प्रशिक्षक तथा सहभागीहरूबीच उत्साहजनक वातावरण देखिएको थियो। आयोजकले आगामी वर्ष अझ धेरै देशका श्रमिकलाई समेटेर प्रतियोगिता विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।






