सउल, दक्षिण कोरिया – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल शुक्रबार मार्शल ल सम्बन्धी आरोपमा सुरु भएको दोस्रो मुद्दाको पहिलो सुनुवाइमा उपस्थित भएका छन्। गत जुलाईमा पक्राऊ परेपछि उनी पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्।
सउलको दक्षिणतर्फ रहेको सउल डिटेन्सन सेन्टरबाट उनलाई कडा सुरक्षाबीच सउल सेंट्रल जिल्ला अदालतमा ल्याइएको थियो। बिहान १०:१५ बजे सुरु भएको सुनुवाइको कार्यवाही व्यक्तिगत विवरण हटाएर अनलाइन प्रसारण गरिने भएको छ।
गाढा निलो सुटमा अदालत प्रवेश गरेका युन पहिलेभन्दा दुब्लो देखिन्थे। उनले आफ्नो कैदी नम्बर “३६१७” अंकित पोशाक लगाएका थिए। पहिचान प्रक्रिया क्रममा उनले जन्ममिति र ठेगाना विवरण दिएका थिए भने जूरीद्वारा हुने मुद्दा अस्वीकार गरेका थिए।
युनमाथि गत डिसेम्बरमा मार्शल ल लागू गर्ने असफल प्रयासमार्फत विद्रोह नेतृत्व गरेको आरोपमा पहिले नै मुद्दा चलिरहेको छ। यसपटक भने मन्त्रीपरिषद्को अधिकार हनन, मार्शल ल घोषणा संशोधन, अनुसन्धानकर्ताको पक्राऊ प्रक्रियामा अवरोध, कल रेकर्ड मेटाउने तथा झूटो विवरण सार्वजनिक गर्ने आदेश दिएको जस्ता थप गम्भीर आरोपसमेत थपिएका छन्।
गत जुलाई ९ मा पक्राऊ वारन्ट सुनुवाइका क्रममा उनी अन्तिमपटक सार्वजनिक रूपमा देखिएका थिए। त्यसयता उनलाई पुनः कारागारमै राखिएको हो।






