बोम्जन गुरुङ
स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा गत अगस्ट ०४ मा आयोजित “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । संस्थाले सउल दोङ्देमुनमा एक कार्यक्रमको आयोजना गर्दै उक्त प्रतियोगिताको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो ।
संस्थाले पाँचौं पटक आयोजना गरेको उक्त भलिबल प्रतियोगिताबाट कुल आम्दानी २ करोड, ६९ लाख, ७१ हजार, ५ सय ९० कोरियन वोन र कूल खर्च १ करोड, ५९ लाख, ९३ हजार, २ सय २६ कोरियन वोन रहेकोमा वचत हुन आएको कुल रकम १ करोड, ९ लाख, ७८ हजार, ६ सय ४७ कोरियन (करिब एघार लाख नेपाली रुपैयाँ) बचत गर्दै कार्यक्रमको उद्धेश्य अनुरुप विगत लामो समयदेखि सञ्चालनमा आइरहेको स्याङ्जा घर (सेल्टर)को दीर्घकालीन व्यवस्थापनका निमित्त सो रकमलाई प्रयोगमा ल्याईने संस्थाका केन्द्रीय अध्यक्ष सुशिल गुरुङले जानकारी दिए ।
कोरियामा हुने नेपाली समुदाय विच हुने भलिबल प्रतियोगिताको इतिहासमै सर्वाधिक टीम सहभागी गराएर संस्थाले कीर्तिमान कायम गरेको सो प्रतियोगितामा सुदुरपश्चिम समाज दक्षिण कोरिया र बागलुङ समाज दक्षिण कोरिया क्रमशः प्रथम र द्वित्तीय स्थान हासिल गरेको सन्दर्भ खेल संयोजक मिलन आलेले उल्लेख गरे । आर्थिक सहयोग संकलनको जिम्मा पाएका कोषाध्यक्ष खिम सिङ्जाली मगर र सहकोषाध्यक्ष झरन रानाले प्रतियोगिताको कूल आम्दानी र खर्च विवरण निकै पारदर्शी ढङ्गले प्रस्तुत गर्दै खेलमार्फत मनोरञ्जन सँगै सामाजिक कार्यका लागि आर्थिक सहयोगमा जुट्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे ।
विशुद्ध सामाजिक सेवाको पवित्र उद्धेश्यसँगै जोडिएको “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगितालाई भव्य रुपमा सफल बनाउनका निम्ति (व्यक्तिगत तथा संस्थागत रूपमा) विभिन्न तह र तप्काबाट आर्थिक, भौतिक, नैतिक साथ सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण सहयोगी व्यक्तित्वहरू प्रति आयोजक स्याङ्जा परिवार दक्षिणले हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ ।






