सुवन (दक्षिण कोरिया) – सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आगामी सेप्टेम्बर २१ तारिख आइतबार सुवनस्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजित विशेष कार्यक्रममा प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको हो।
समाजका अनुसार प्रतियोगितामा दक्षिण कोरियाभरि रहेका २४ वटा टिम सहभागी हुनेछन्। खेललाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा सञ्चालन गरिनेछ। प्रतियोगिता सेप्टेम्बर २१ तारिख बिहान ८ बजेबाट औपचारिक रूपमा सुरु हुनेछ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचार–सिन्धुपाल्चोकबासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको हो। साथै, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य उद्देश्य पनि रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रसहित २० लाख कोरियन वोन प्रदान गरिनेछ भने उपविजेता टिमलाई १२ लाख कोरियन वोन सहित मेडल र प्रमाणपत्र दिइनेछ। सेमिफाइनल पुग्ने दुई टिमलाई पनि ४/४ लाख कोरियन वोनसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, उत्कृष्ट स्पाइकर, डिफेन्डर र लिफ्टरलाई ५०,००० वोन र प्रमाणपत्र दिइनेछ। 
आयोजक समाजले दक्षिण कोरियामा रहेका नेपाली समुदाय, खेलप्रेमी, खेलाडी, संघ–संस्थाका प्रतिनिधि र दर्शकलाई प्रत्यक्ष उपस्थित भएर प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल पार्न हार्दिक अनुरोध गरेको छ।






