राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ का लागि वरिष्ठ न्युरोलोजिष्ट तथा सामाजिक अभियन्ता डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका उपसभापति डिपी अर्यालले प्राइमरी इलेक्सनमार्फत नौ जनामध्ये डा. थापालाई उम्मेदवारका रूपमा चयन गरिएको जानकारी दिए।
१६ वर्षभन्दा बढी समयदेखि नेपाली न्युरो साइन्सको विकास, बिरामी उपचार र अनुसन्धानमा सक्रिय डा. थापासँग पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी (इन्टरनल मेडिसिन), चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम (न्युरोलोजी) र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फर्मेटिभ’को उपाधि छ।
८० भन्दा बढी अनुसन्धानात्मक पेपर प्रकाशित गरिसकेका डा. थापा नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्ष हुन्। हालै उनको नेतृत्वमा तयार गरिएको ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरिसकेको छ।






