कोरियन एअरले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग करिब ३६ अर्ब २० करोड डलर (५०.३ ट्रिलियन वोन) बराबरको नयाँ पुस्ताका १०३ विमान खरिद गर्ने निर्णय गरेको छ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्यङको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वाशिङ्टनमा सम्पन्न शिखर बैठकपछि सोमबार दक्षिण कोरियाको उद्योग, व्यापार तथा ऊर्जा मन्त्रालयले यसबारे जानकारी दिएको हो।
यो सम्झौता कोरियन एअरको इतिहासमै सबैभन्दा ठूलो विमान खरिद आदेश हो। सम्झौताअनुसार २०४० भित्र चरणबद्ध रूपमा निम्न विमान आपूर्ति गरिनेछः
- २० वटा बोइङ ७७७–९
- २५ वटा बोइङ ७८७–१०
- ५० वटा बोइङ ७३७–१०
- ८ वटा बोइङ ७७७–८एफ मालवाहक विमान
यससँगै एसियाना एयरलाइन्स अधिग्रहणपछि दिगो विकासलाई समर्थन गर्ने कोरियन एअरको रणनीतिक कदमका रूपमा यो लगानीलाई हेरिएको छ।
विमान खरिदका अतिरिक्त कोरियन एअरले जीई एयरोस्पेस र सीएफएम इन्टरनेशनलबाट १९ वटा अतिरिक्त इञ्जिन पनि खरिद गर्नेछ। साथै, जीई एयरोस्पेससँगको सहकार्यमा २० वर्षे सम्पूर्ण इञ्जिन मर्मत–सम्भार सेवा कार्यक्रममा प्रवेश गर्ने समझदारी समेत भएको छ।
यस योजनाअन्तर्गत करिब ६९ करोड डलर इञ्जिन खरिदमा, र झण्डै १३ अर्ब डलर इञ्जिन मर्मत–सम्भार सेवा सम्झौतामा लगानी हुने कोरियन एअरले जनाएको छ।






