गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाको नव–निर्वाचित दशौं कार्यसमिति र दक्षिण कोरियास्थित नेपाली राजदूतावासबीच परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेज्युको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती तामाङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्ष निरञ्जन भण्डारी, महासचिव कमल भण्डारी, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, युवा संयोजक टेक बहादुर बोहरा लगायत पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
भेटघाटमा कोरियावासी नेपालीहरूले भोगिरहेका समस्या, आवश्यक सहजीकरणका पहल तथा सम्भावित समाधानका विषयमा विस्तृत छलफल भएको थियो। राजदूत तुम्बाहाङ्फेले दूतावासबाट सम्भव हुने सहयोगका विषयमा सकारात्मक धारणा राख्दै समस्या समाधानका लागि पहल गर्न तत्पर रहेको आश्वासन व्यक्त गर्नुभयो।
कार्यक्रममा विविध अन्य विषयमा पनि NRNA दक्षिण कोरिया र नेपाली राजदूतावासबीच सहकार्य र समन्वयमा कार्यक्रमहरू आयोजना गर्नेबारे चर्चा भएको संघले जनाएको छ।
समग्रमा, भेटघाट कार्यक्रम फलदायी रह्यो भन्दै NRNA दक्षिण कोरियाले महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेज्यु लगायत सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।






