राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४औँ महासभामा नेपाल सरकारकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्दै नेपाल र नेपालजस्ता भू-वनोटयुक्त तथा हिमाली देशहरूका लागि दिगो कृषि प्रणाली विकास र जलवायु वित्तमा विशेष सहयोग पुर्याउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन्।
महासभालाई सम्बोधन गर्दै मन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपाल लगायतका हिमाली मुलुकहरू अत्यधिक प्रभावित भइरहेका उल्लेख गर्दै यस्तो संवेदनशील क्षेत्रका लागि कृषि प्रणालीलाई दिगो, अनुकुल र सुरक्षित बनाउनु पर्नेमा जोड दिइन्।
उनले नेपालले जलवायु अनुकूल कृषि प्रणाली, जल स्रोत व्यवस्थापन र खाद्य सुरक्षालाई प्राथमितामा राखेको बताउँदै अन्तरराष्ट्रिय साझेदारी र सहयोग आवश्यक रहेको स्पष्ट पारिन्।
डा. देउवाले विश्व समुदायसँग नेपालजस्ता मुलुकलाई जलवायु वित्त र प्राविधिक सहयोग उपलब्ध गराउन अपिल गर्दै, हिमाली क्षेत्रको जैविक विविधता र प्राकृतिक स्रोतहरूको संरक्षणमा सँगै मिलेर काम गर्न आग्रह गरिन्।
FAO को ४४औँ महासभामा विश्वभरका प्रतिनिधिहरूले खाद्य सुरक्षासम्बन्धी चुनौती र समाधानमाथि छलफल गरिरहेका छन्।






