
नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि आज सफलतापूर्वक पृथ्वीमा फर्किएका छन्। उनीहरू सवार क्याप्सुल आज बिहान सवा ३ बजे फ्लोरिडाको तट नजिकै समुद्रमा अवतरण भएको बीबीसी समाचारले जनाएको छ।
१७ घण्टाको यात्रा पछि पृथ्वीमा अवतरण
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) बाट छुटेको १७ घण्टापछि उनीहरू पृथ्वीमा आइपुगेका हुन्। पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्षयान तीव्र गतिमा अगाडि बढ्यो। त्यसपछि चार प्यारासुट खुलेर यानको गति कम गरियो, जसले गर्दा उनीहरू सुरक्षित रूपमा समुद्रमा अवतरण गर्न सफल भए।
समस्या आएका कारण विलम्ब
सुनिता विलियम्स र बुच विल्मोर २०२४ को जुन ५ तारिखमा नासाको स्टारलाइनर परीक्षण यान मार्फत ISS गएका थिए। उनीहरू आठ दिनमै पृथ्वी फर्कने योजना थियो, तर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू अन्तरिक्षमै बस्न बाध्य भएका थिए।
नासाको प्रशंसा
नासाको कमर्सियल क्रू प्रोग्राम का प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको साहस र धैर्यताको प्रशंसा गरेका छन्। उनले अन्तरिक्षयानको समस्या समाधान गर्न लामो समय लागे पनि अन्ततः मिशन सफल भएको बताए।
अन्तरिक्षमा लामो समय बिताएर फर्किएका यी दुई अन्तरिक्ष यात्रीको स्वागतका लागि नासाले विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ।





