बोम्जन गुरुङ
२७ फेब्रुअरी २०२५, कोरिया- कोरिया स्थित गण्डकी प्रदेश दक्षिण कोरियाको दोश्रो अधिवेशनको मिति नजिकिदै गइरहेको परिप्रेक्ष्यमा अधिवेशनको चर्चा चुलिँदै गएको छ । यही मार्च २ तारिक सउल (서울특별시 종로구 종로 진형 빌딩 386, 10 층) मा हुने उक्त आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि स्याङ्जाका नर कुमार गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सन् २००८ मा इपिस प्रणाली मार्फत् कोरिया प्रवेश गरेका गुरुङ कोरिया बसाईको क्रममा विभिन्न संघ संस्थासँग आबद्ध हुँदै नेपाली समुदायलाई नजिकबाट नियालेका व्यक्ति हुन् ।
कोरियाको बसाईको लामो अनुभवद्धारा आफ्नो व्यक्तित्व तिखार्दै-निखार्दै सामाजिक सेवाको भावले ओतप्रोत गुरुङ धेरै जातीय तथा सामाजिक संघ संस्थाहरु सँग आबद्ध हुँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिईरहेका छन् । नेपाल हुँदाखेरी नै सामाजिक क्रियाकलाप र सामूहिक कार्यमा हुरुक्कै हुने गुरुङ कोरिया प्रवेशसँगै समाजसँग घुलमिल हुने आफ्नो बानी र समाजसेवाको नशाको हुटहुटीलाई रोक्न सकेनन् । उनी २५ वर्ष ईतिहास पार गरिसकेर सफलतापूर्वक रजत जयन्ती मनाइसकेको तमु धीं दक्षिण कोरिया र स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रीय सल्लाहकारको रुपमा विभिन्न कार्यकाल देखि अविछिन्न आबद्ध छन् । स्याङ्जा जिल्ला भित्रको स्याङ्जा भीरकोट आर्थर तमु समाजका संस्थापक अध्यक्ष हुन् र वर्तमान संरक्षक पनि ।
आफ्नो समाजसेवाको कर्म, लगाव र धारणालाई अझ फराकिलो बनाउने उद्धेश्यले विगतमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सदस्य पदमा असफल भएपनि सफलताको खुड्किलोको अनुभूति गर्दै उम्मेदवारी दिएका थिए । यसरी विभिन्न संघसंस्थामा कुशल नेतृत्व प्रदान गर्दै, आबद्ध रहँदै लामो अनुभव बटुल्दै आएका गुरुङ गण्डकी प्रदेश समाजको उपाध्यक्ष पदमा आफ्नो पदभार कुशलतापूर्वक सम्हालीरहेका छन् ।
गण्डकी प्रदेश समाजभित्र आबद्ध एघार जिल्लाहरुका जिल्लागत संस्था अर्थात् क्षेत्रीय संस्थाहरु सबैले रुचाइएका गुरुङ नम्र, सहनशील र क्षमतावान् व्यक्तित्व हुन् । समाजले आफ्नो कार्यसमितिभित्र बाटै योग्य अध्यक्ष उम्मेदवार पदको सिफारिस गर्दै अघि सारेका छन् । यसरी गौरवमय जातीय संस्था तमु धीं र क्षेत्रीय संस्था स्याङ्जा परिवारको पूर्ण साथ र समर्थन सहित संस्थागत अनुमोदन सहित गुरुङलाई अघि सारिएको छ ।
आफू भित्रको दृढ संकल्प, ईच्छा शक्ति र चाहनालाई कोरिया भित्रका सम्पूर्ण संघसंस्थासँग समन्वय गर्ने र नेपाली समुदायको हितको लागी आफूलाई समर्पित गर्ने प्रतिबद्धता सहित सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न गर्न र विजयी बनाउनुहुन सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा अध्यक्ष पदमा उम्मेदवार नर कुमार गुरुङले हार्दिक आग्रह र निमन्त्रणा गरेका छन् ।