सोनाम पराजुली (प्रविन)/दक्षिण कोरिया
दक्षिण कोरियाको आनसानमा आज सम्पन्न फेयरवेलकप क्रिकेट प्रतियोगिताको उपाधि एभरेस्ट वारियरले हात पारेको छ ।
ड्रिम इलाभेन आनसानको आयोजनामा फेयरवेल कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
जम्मा १० टिमको सहभागिता रहेको प्रतियोगितामा हरेक टिमले उत्कृष्ट प्रदर्शन गरेता पनि फाइनलको ढोका भने नेपाल राइनो र डिफेन्डिङ च्याम्पियन एभरेष्ट वारियरले मात्रै खोल्न सफल भएका थिए । प्रतियोगिताका सम्पूणर् खेल १२ ओभरको भएतापनि समय अभावका कारण फाइनल खेल भने पाँच ओभरमा झारिएको थियो ।
फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै एभरेस्ट वारियरले पाँच विकेटको क्षतिमा ५४ रनको टार्गेट दिन सफल भएको थियो । जवाफमा नेपाल राइनोले खराब सुरुवात गर्दै सात विकेटको क्षतिमा जम्मा ३३ रन मात्रै बनाउन सफल भएको थियो ।
योसँगै एभरेस्ट यस सिजनमा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै बिमल मगर म्यान अफ द टुर्नामेन्ट साथै उत्कृष्ट ब्याट्सम्यान भएका छन् भने उत्कृष्ट बलरको उपाधि प्रकाश भट्टराईले हात पार्न सफल भएका छन् ।
कोरियामा पछिल्ला केही वर्षदेखि क्रिकेटको बढ्दो क्रेज देख्न सकिन्छ तर अन्य खेलहरूमा जस्तै कोरियाका संघसंस्था तथा समाजहरुले क्रिकेटमा चासो नदेखाउँदा क्रिकेट प्रतियोगिताहरूले प्राथमिकता पाउन सकेको छैन ।