कमला केसी/दक्षिण कोरिया
अध्ययनका लागि विद्यार्थी भिषामा दक्षिण कोरिया पुगेका नेपाली विद्यार्थीहरुलाई सजग र सतर्क रहन गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले आग्रह गरेको छ ।
कोरियन सरकार द्वारा आफ्नो भिषाको दायरा भन्दा बाहिर गई काम कर्तब्य गर्ने व्यक्तिहरुलाई धरपकड गर्ने कार्य तिब्र रुपमा बढाएको पाईएकोले मुख्यगरी बिद्यार्थी भिषामा कोरियामा रहेकाहरुलाई अतिनै सतर्कताका साथ रहन तथा आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम,कर्तब्य गर्न अनुरोध गरिएको हो ।
यहि अगष्ट २२ तारिख शनिवार इन्छन ईमिग्रेसनले तीन जना बिद्धार्थीहरुलाई काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको र तीन जना मध्ये एक जना बिद्याार्थी कोरिया आएको केहि महिना भएको र दुई जना बिद्धार्थीहरु कोरिया आएको एक हप्ता भन्दा कम समय भएको तथा विश्वविद्यालयसंँग सम्पर्क पनि नगरी सिधै काममा गएको भन्ने बुझिएकोले दक्षिण कोरियाको अध्यागमन नीति अनुरुप चल्न भनिएको छ । दुई जना बिद्धार्थीहरुलाई कुनै पनि हालतमा नेपाल फर्काउने भन्ने तरखर लगभग अन्तिम चरणमा पुगेको अवस्थामा एनआरएनएले ध्यानाकर्षण गराएको हो ।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले तुरन्तै इन्छन ईमिग्रेसन पुगेर बुझ्दा विगतको जस्तो भन्दा जटिल केस भएको भएर उहाँलाई पनि बिद्धार्थीहरुलाई भेट्न तथा अवस्थाको बारेमा जानकारी लिन अतिनै कठिन भएको थियो । धेरै समयको पर्खाई र इन्छन ईमिग्रेसनका पदाधिकारीसँगको अतिनै लामो र गहन छलफल पछि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष गुरुङले आफैले जरीवाना तिरेर छुटाउन सफल हुनु भएको थियो ।
विद्यार्थीहरुले भिषाको दायरा भन्दा बाहिर गएर काम गर्ने गरेको बारेमा दक्षिण कोरियालाई हप्तामा दुइ देखि तिन पटक सम्म जानकारी आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
संघले दक्षिण कोरिया एक बिधि-पद्धति, नियम-कानूनमा चलेको देश भएको भन्दै यहाँको नियमको बेवास्ता तरी अथवा नियमको उल्लंघन गर्दै यस्ता घटनाहरु बारम्बार दोहोरि रहेको खण्डमा बिद्यार्थी सम्बन्धि अध्यागमन नीति अझ कठोर हुने र भएको नीतिको कार्यान्यवनमा अझै कडाई हुने भएकाले यस्तो कार्य नगर्न आग्रह गरेको छ । कठिन परिस्थिति सिजर्ना भएमा पहिल्यैदेखि पुगेका र नव आगन्तुक बिद्धार्थीहरुलाई अझ गाह्रो हुदै जाने अवस्था आउने अवस्थामा संघले गरिरहेको सहयोग पनि अमान्य हुने भन्दै दायरा उल्लंघन नगर्न आग्रह गरिउको छ ।
नेपालबाट बिद्धार्थी भिषामा कोरिया ल्याउन संचालनरत सम्पूणर् कन्सल्टेन्सीहरुलाई पनि बिद्यार्थीहरुले कोरियामा रहदा पालना गर्नु पर्ने बिद्यार्थी भिषा सम्बन्धि नियम-कानून, कर्तब्य र अधिकारहरुको राम्रोसँग जानकारी दिनुहुन संघले आग्रह गरेको छ । आफ्नो कन्सल्टेन्सीबाट आएका बिद्यार्थीहरुमा यस्ता किसिमका घटना घटेमा जिम्मेवारी लिई समाधानको लागि अग्रसर रहन संघको अनुरोध छ । साथै दक्षिण कोरियामा अध्ययनको लागि आउने तथा यहाँ रहनु भएका सम्पूणर् बिद्धार्थीहरुलाई आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम/ कर्तब्य गर्न संघले सचेत गराएको छ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले सहयोग गर्न सक्ने बिषयमा सँगै अग्रसर भएर काम गर्दै आईरहेको भन्दै थप जानकारीका लागि तलको सम्पर्क नम्वरमा फोन वा इमेल ठेगानामा इमेल गर्न पनि आग्रह गरेको छ ।






