दक्षिण कोरियामा कडा शिक्षा नीति २०२६ देखि स्कूल बुलिङ इतिहासले विश्वविद्यालय भर्ना रोक्ने

0
132

सियोल — दक्षिण कोरियाले शिक्षा प्रणालीमा ऐतिहासिक परिवर्तन गर्दै २०२६ शैक्षिक वर्षदेखि स्कूल बुलिङ (학교폭력) इतिहासलाई विश्वविद्यालय भर्नामा अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ। अब शैक्षिक नतिजा, 수능 (CSAT), निबन्ध, प्रतिभा वा 실기 सबै प्रक्रियामा विद्यार्थीको व्यवहार अभिलेख जाँचिनेछ।

नयाँ नियमअनुसार बुलिङमा संलग्न भएको प्रमाण भेटिएमा कडा असर पर्नेछ।
स्तर १ को सजाय भए पनि धेरै विश्वविद्यालयले ५०–१०० अंकसम्म घटाउनेछन् भने स्तर २ वा माथि पुगेमा प्रायः स्वतः अस्वीकृति हुनेछ। अनुशासनात्मक अभिलेख सुरक्षित रहने अवधि पनि २ वर्षबाट बढाएर ४ वर्ष बनाइएको छ।

पछिल्लो भर्ना चक्रमा बुलिङ इतिहास भएका करिब ७५ प्रतिशत विद्यार्थी असफल भएका छन्। सियोल नेशनल युनिभर्सिटी र योन्सेइ युनिभर्सिटीमा यस्तो इतिहास भएका आवेदक शतप्रतिशत अस्वीकार भएको तथ्य सार्वजनिक भइसकेको छ।

जी सू, सूजिन, किम डोङ-ही तथा राष्ट्रिय टोलीका भलिबल खेलाडीहरूजस्ता सेलिब्रिटीका पुराना बुलिङ काण्ड सार्वजनिक भएसँगै समाजमा ठूलो बहस चुलिएको थियो। उच्च पदस्थ अधिकारीको छोराको केसले समेत जनआक्रोश बढायो, जसपछि सरकारले कडा नीति अघि बढाएको हो।

सरकारका अनुसार यो नीति अंकमुखी शिक्षा भन्दा माथि उठेर चरित्र, जिम्मेवारी र सहानुभूतिलाई प्राथमिकता दिन ल्याइएको हो। कोरियामा प्रचलित भनाइ छ
“실력만 좋으면 뭐해, 사람이 돼야지।”
(प्रतिभा मात्रै भएर के काम, पहिले असल मान्छे हुनुपर्छ।)

यस नीतिले स्पष्ट सन्देश दिएको छ स्कूलमा गरिने व्यवहार अब निजी विषय होइन, भविष्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्