काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई ‘निष्क्रिय’ बनाउने निर्णय गरेको छ। मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने प्लेटफर्महरूले अब अनिवार्य रूपमा सरकारसँग सूचीकरण गराउनुपर्ने व्यवस्था लागू गर्ने भएको हो।
मन्त्रालयका अनुसार सूचीकरणबिनाका प्लेटफर्महरूले कानूनी मान्यता नपाउने र नेपालमा उनीहरूको पहुँच क्रमशः बन्द गरिनेछ। यस कदमको उद्देश्य डिजिटल प्लेटफर्ममा पारदर्शिता कायम गर्नु, प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिनु, साथै अनलाइन ठगी तथा दुष्प्रचार नियन्त्रण गर्नु रहेको मन्त्रालयले जनाएको छ।
सूचना प्रविधि विभागमार्फत अब छिट्टै सूचीकरण प्रक्रिया सुरु गरिने तयारी भइरहेको छ। मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालकहरूलाई आवश्यक कागजातसहित तोकिएको समयभित्र आवेदन दिन आह्वान गरेको छ।






