दक्षिण कोरियामा गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम आयोजना हुने

0
116

दक्षिण कोरियामा रहेका नेपालीहरूको स्वास्थ्य सचेतना र परामर्शका लागि गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले विशेष गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी २०२५ अगस्ट २३, शनिबार नेपाली समय साँझ ५:०० बजे र कोरियाली समय साँझ ८:१५ बजेबाट प्रत्यक्ष प्रसारण हुनेछ। यसलाई गण्डकी प्रदेश समाजको फेसबुक पेज र पोखरा टेलिभिजन मार्फत LIVE प्रसारण गरिनेछ।

कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेखा पौडेलले महिलामैत्री स्वास्थ्यसम्बन्धी परामर्श दिनेछिन् भने प्रस्तुतकर्ताको भूमिकामा समाजका संचार विभाग प्रमुख गोबिन्द बानियाँ रहनेछन्।

आयोजकका अनुसार स्वास्थ्य समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका तथा भाषा अवरोधकै कारण अस्पतालमा आफ्ना समस्या राख्न नसकेका प्रवासी नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याइएको हो। विशेषगरी, कोरियामा बस्ने महिला दिदीबहिनीहरूले प्रत्यक्ष कार्यक्रममा सहभागी भई आफ्ना समस्या राख्न सक्नेछन्। साथै, कार्यक्रम अघि वा बीचमा आयोजकहरूले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत प्रश्न वा समस्या टिपाउन सकिनेछ।

यसबाहेक, नेपालस्थित मेडिप्लस हस्पिटल पोखरा रानिपौवासँगको सहकार्यमा गण्डकी प्रदेशका सदस्य, आजीवन सदस्य तथा रिटर्नीज असोसिएसन गण्डकी नेपालका सदस्य र उनका परिवारले नेपालमा स्वास्थ्य परीक्षणमा विशेष छुट पाउने व्यवस्था पनि गरिएको छ।

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले सम्पूर्ण प्रवासी नेपालीलाई यस कार्यक्रममा सहभागी भई लाभ उठाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्