दक्षिण कोरियामा सन् २०२६ देखि न्यूनतम तलब वृद्धि, प्रतिघण्टा १०,३२० वन्

0
194

सउल, जुलाई ११ – दक्षिण कोरियाले सन् २०२६ का लागि न्यूनतम तलब प्रतिघण्टा १०,३२० वन् निर्धारण गरेको छ। हालको न्यूनतम तलब १०,०३० वन् प्रति घण्टाबाट २.९ प्रतिशतले वृद्धि गरिएको हो। यो निर्णय २०२५ जुलाई १० मा कोरियाको Minimum Wage Commission को १२औं पूर्ण बैठकमार्फत पारित गरिएको हो।

नयाँ तलब दर आगामी वर्षको जनवरी १ देखि लागू हुनेछ। तलब वृद्धिको यो प्रस्ताव श्रमिक, रोजगारदाता र सार्वजनिक प्रतिनिधिहरूको त्रिपक्षीय सहमतिपछि पारित भएको हो, जुन विगत १७ वर्षयता पहिलो पटक यस्तो सर्वसम्मत सहमति भएको बताइएको छ।

दक्षिण कोरियामा कानूनी रूपमा २०९ घण्टा मासिक काम मान्यता प्राप्त छ। सो आधारमा सन् २०२६ देखि कामदारहरूले मासिक २,१५६,८८० वन् तलब प्राप्त गर्नेछन्। यो रकम आजको विनिमय दर अनुसार करिब २ लाख १४ हजार १ सय ७६ नेपाली रुपैयाँ हुन आउँछ।

त्यस्तै, ओभरटाइमको दर पनि स्वतः वृद्धिको सम्भावना रहेको छ। अहिलेको नियमअनुसार, ओभरटाइममा न्यूनतम तलबको डेढ गुणासम्म पाउन सकिने भएकाले, नयाँ दर अनुसार ओभरटाइम तलब १५,४८० वन् प्रति घण्टा हुने अनुमान छ।

कोरियाली श्रम मन्त्रालयका अनुसार तलब वृद्धिको प्रस्ताव गर्दा देशको आर्थिक अवस्था, महँगीको दर, साना तथा मझौला व्यवसायहरूमा पर्ने प्रभाव, र श्रमिकहरूको जीवनस्तरलाई मध्यनजर गरिएको छ। श्रम मन्त्रीको औपचारिक घोषणासँगै यो निर्णय पूर्णरूपमा कार्यान्वयनमा आउनेछ।

यो तलब वृद्धिले विशेषगरी न्यूनतम तलबमा आश्रित श्रमिकहरू, जसमा ठूलो संख्यामा विदेशी कामदारसमेत छन्, उनीहरूको जीविकोपार्जनमा राहत पुग्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्