काठमाडौं, असार ८ – अब ईपीएसमार्फत दक्षिण कोरिया रोजगारीमा जान चाहने श्रमिकको रि-रजिस्ट्रेसन प्रक्रिया अनलाइनमार्फत मात्रै हुने भएको छ। यसअघि कामदार आफैं सम्बन्धित शाखामा उपस्थित भई म्यानुअल फाइल दर्ता गराउँदै आइरहेकोमा अबदेखि वेबसाइटबाट मात्र दर्ता गर्ने व्यवस्था लागू गरिएको छ।
ईपीएस कोरियन शाखाका अनुसार रोजगार अनुमति प्रणाली (Employment Permit System) अन्तर्गत दक्षिण कोरिया जान आवेदन दिने श्रमिकले एक वर्षभित्र छनोट नभएमा पुनः योग्य सूचीमा बस्नका लागि स्वास्थ्य परीक्षण गरी रोजगार आवेदन फाराम भर्ने प्रक्रिया अनिवार्य गरिन्छ। 
शाखाले जानकारी दिएअनुसार म्यानुअल फाइल दर्ता अब मङ्गलबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ। अब श्रमिकहरूले अनलाइनमार्फत मात्र आवेदन दर्ता गर्नुपर्नेछ। यसका लागि आधिकारिक वेबसाइट प्रयोग गर्न र निर्धारित प्रक्रिया पूरा गर्न शाखाले अनुरोध गरेको छ।
नयाँ व्यवस्था लागू भएसँगै सेवाग्राहीलाई थप सहज, छिटो र पारदर्शी सेवा दिने उद्देश्य रहेको ईपीएस शाखाले जनाएको छ।






