दक्षिण कोरियाको निर्वाचन प्रणालीमा लोकतान्त्रिक मूल्यको सशक्त प्रतिबिम्ब

0
120

सउल, २०२५ मे २७, मंगलबार – ओमलाल ओली दक्षिण कोरियाको निर्वाचन प्रणाली विश्वमै सुशासन र लोकतान्त्रिक मूल्यको उदाहरणका रूपमा प्रस्तुत हुँदै आएको छ। प्रतिनिधिमूलक शासन प्रणालीमा आधारित यो प्रणालीले नागरिकहरूलाई स्वतन्त्र, निष्पक्ष र समान आधारमा आफ्नो प्रतिनिधि चयन गर्ने अवसर प्रदान गर्दै आएको छ।

दक्षिण कोरियाको संविधानले सार्वभौमसत्ता जनतामा निहित रहेको स्पष्ट रूपमा उल्लेख गरेको छ। सोही अनुसार यहाँको निर्वाचन प्रणाली पाँचवटा प्रमुख सैद्धान्तिक आधारमा निर्माण गरिएको छ: समानता, प्रत्यक्षता, गोपनीयता, स्वतन्त्रता र निष्पक्षता।
राष्ट्रपति तथा संसद सदस्यहरूको निर्वाचन प्रत्यक्ष जनमतबाट गरिन्छ। राष्ट्रपति पदका लागि उमेर ४० वर्ष नाघेको हुनुपर्ने र पाँच वर्षे कार्यकालको सीमा तोकिएको छ। पुनः उम्मेदवारी दिन नपाइने व्यवस्थाले शक्तिको दुरुपयोग रोक्ने उद्देश्य लिएको छ।

राष्ट्रिय सभामा ३०० जना सदस्य निर्वाचित हुन्छन्। तीमध्ये २५३ जना एक–एक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित गरिन्छन् भने बाँकी ४७ जना समानुपतिक प्रतिनिधित्व प्रणालीबाट विभिन्न दलहरूको मत प्रतिशतका आधारमा चयन गरिन्छ। राष्ट्रिय सभा सदस्य र स्थानिय तहको प्रतिनिधिहरूको कार्यकाल ४ वर्ष र पुःन उमेदवार दिन पाउने व्यवस्था छ । सन् २०२० मा सुधारिएको प्रणाली अनुसार साना राजनीतिक दलहरूलाई समेत संसदमा पुग्न सहज बनाइएको छ। यसले राजनीतिक समावेशिता बढाएको विज्ञहरूले बताउँदै आएका छन्।

मतदान प्रक्रिया अत्यन्त प्रविधिमैत्री र पारदर्शी छ। अग्रिम मतदानको सुविधा, इलेक्ट्रोनिक गणना प्रणाली, तथा मतदाता परिचय प्रमाणीकरण प्रविधिको प्रयोगले विश्वसनीयता अझ बढाएको छ।

स्वतन्त्र निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्छ। उम्मेदवारी दर्ता, प्रचार नियम निर्धारण, निर्वाचन नतिजा घोषणा लगायतका कार्यहरू आयोगद्वारा गरिन्छ। यसले निर्वाचनलाई राजनीतिक हस्तक्षेपबाट टाढा राखेको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “दक्षिण कोरियाको निर्वाचन प्रणाली लोकतन्त्रको अभ्यास मात्र होइन, सैद्धान्तिक शुद्धताको आदर्श हो। यहाँको प्रतिनिधित्व प्रणालीले सशक्त, जवाफदेही र विविध प्रतिनिधित्व सुनिश्चित गरेको छ।”

यसैबीच आगामी जुन ३ मा हुने राष्ट्रपति निर्वाचनले देशको राजनीतिक भविष्य निर्धारण गर्नेछ। पूर्व राष्ट्रपति युन सुक-योलको मार्शल लको घोषणापछि भएको महाभियोग र पदच्युतिले देशमा राजनीतिक अस्थिरता निम्त्याएको थियो। संविधान अनुसार, राष्ट्रपतिको पद रिक्त भएमा ६० दिनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार यो निर्वाचन तय गरिएको हो सोहि अनुसार विदेशमा रहेका कोरियालीहरूको लागि अग्रिम भोट सुरू मे १९-२५ र कोरियामा रहेका तर काम विशेषले जुन ०३ मा भोट दिन नपाउनेहरूको लागि मे २९ र ३० को मिति तय भएको छ ।

हाल सम्मको जनमत सर्वेक्षण अनुसार विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे-म्युंग अग्रस्थानमा छन्। Realmeter द्वारा गरिएको एक सर्वेक्षणमा, इ जे-म्युंगले ४८.५% समर्थन प्राप्त गरेका छन्, जबकि प्रमुख प्रतिस्पर्धी खिम मुन-सु (People Power Party) ले १३.४% समर्थन पाएका छन्। अन्य उम्मेदवारहरूमा हङ जुन-प्यो (१०.२%), हान डोङ-हुन (९.७%), ली जुन-सोक (४.४%), र आह्न चोल-सु (२.५%) रहेका छन्।

आगामी राष्ट्रपति निर्वाचनले दक्षिण कोरियाको लोकतान्त्रिक मूल्य र सैद्धान्तिक पक्षहरूलाई पुनः पुष्टि गर्ने अवसर प्रदान गर्नेछ। जनताको सक्रिय सहभागिता र निर्वाचन आयोगको निष्पक्ष व्यवस्थापनले निर्वाचन प्रक्रियालाई सफल बनाउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्