जेजु, दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया अन्तर्गत जेजु प्रान्तीय क्षेत्रीय कार्यसमितिको आयोजनामा यही मे ११ तारिखका दिन नेपाली राजदूतावासको घुम्ती सेवा, स्वागत समारोह तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको आयोजना 제주영락종합사회복지관, गोमा-रो 9길 32 स्थित तेस्रो तलामा गरिएको थियो। बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा जेजुमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। कुल १०८ जना सेवाग्राहीहरूले सहभागिता जनाएका थिए, जसमा ९७ जनाले राहदानी नवीकरण, १० जनाले ड्राइभिङ लाइसेन्स प्रमाणीकरण तथा १ जनाले इन्सुरेन्ससम्बन्धी सेवा प्राप्त गरेका थिए।
कार्यक्रमको सभापतित्व एनआरएनए जेजु प्रान्तीय कार्यसमितिका अध्यक्ष गोकुल शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा महामहिम नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे ज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँको सहभागिताले कार्यक्रममा अझै गौरव थपेको अनुभव गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि एनआरएनए आइसिसी सदस्य भीम गुरुङ, एनआरएनए दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बुद्धि गुरुङ तथा उपाध्यक्षहरू हरिप्रसाद भट्टराई र सुनिल कन्दङवा ज्यूहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो। यसैगरी, ग्लोबल आइएमई बैंकका प्रतिनिधि किशोर धामीज्यू, तथा न्यूज़ केन्द्रबिन्दुका प्रबन्ध निर्देशक श्रवण श्रेष्ठको समेत सहभागिता रहेको थियो।
साथै कार्यक्रममा शुभकामना मन्तव्य दिँदै एनआरएनए जेजु प्रान्तका संस्थापक अध्यक्ष कोमल प्याकुरेलले समुदायप्रतिको प्रेम र प्रेरणादायी सन्देश दिनुभएको थियो।
उक्त अवसरमा किरात याक्थुङ चुम्लुङ र एनआरएनए जेजु शाखाले महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङफेलाई मायाको चिनोसहित सम्मानसमेत प्रदान गरेका थिए। 
कार्यक्रमको अन्तरक्रिया सत्रमा श्रमिकका समस्या, विद्यार्थीका चुनौतीहरू, र जेजुमा नियमित रूपमा घुम्ती सेवा सञ्चालन गर्ने आवश्यकताबारे गम्भीर छलफल भयो। एनआरएनए जेजु शाखाका अध्यक्ष गोकुल शर्माले राजदूतावासको सेवा क्यालेन्डरमा जेजु प्रान्तलाई नियमित रूपमा समावेश गर्न विशेष अनुरोध पनि गर्नुभएको थियो।
कार्यक्रमको सफलता सम्भव बनाउन खटिनुभएका सम्पूर्ण स्वयंसेवक, आयोजक टोली, सहयोगी संस्था ग्लोबल आइएमई बैंक, जीएमई रेमिटेन्स र सम्पूर्ण सहभागी समुदायलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।
यो कार्यक्रमले जेजुमा बसोबास गर्ने नेपालीहरूको सेवाप्रतिको पहुँचलाई अझ सहज बनाएको मात्र होइन, एनआरएनए र राजदूतावासबीचको सहकार्य, सद्भाव र सामूहिकताको सशक्त सन्देश पनि दिएको छ। 







