दक्षिण कोरियाका लागि नेपाली राजदूत माननीय डा. शिवमाया तुम्बाहाम्फे र कोरियन रेलका अध्यक्ष मिस्टर हानबीच हालै औपचारिक भेटघाट सम्पन्न भएको छ। कोरिया-नेपाल इन्टरनेशनल एक्सचेन्जको समन्वयमा आयोजना गरिएको यस विशेष कार्यक्रमले दुई देशबीचको पूर्वाधार तथा यातायात क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने संकेत दिएको छ।
कार्यक्रममा नेपालमा रेल सेवा विस्तार, सम्भाव्यता अध्ययन तथा लगानीका सम्भावनाहरूबारे बृहत् छलफल भएको एक्सचेन्जकी अध्यक्ष श्रीजना नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार, कोरियन पक्षले नेपालमा रेलमार्ग निर्माणमा रुचि देखाउँदै निकट भविष्यमा प्राविधिक अध्ययन तथा स्थलगत निरीक्षणका लागि टोली पठाउने प्रतिबद्धता जनाएको छ।
राजदूत तुम्बाहाम्फेले कोरिया आउँदाको सुरुदेखि नै कूटनीतिक सक्रियता र लगानीको पहललाई प्राथमिकता दिँदै आउनुभएको छ। यसै क्रममा, केही दिनअघि मात्र एक कार्यक्रममार्फत नेपालमा कोरियन लगानी र पर्यटन प्रवर्द्धनमा जोड दिनुभएको थियो।
भेटघाटको क्रममा कोरियन रेलका अध्यक्षले सउल स्टेशनको LED स्क्रिनमार्फत नेपाल सम्बन्धी भिडियो प्रचार गर्ने प्रतिबद्धता जनाएका छन्, जसले कोरियन जनतामा नेपालप्रतिको चासो बढाउने विश्वास लिइएको छ।
कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष केपी सिटौलालगायत अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति थियो।
यसै सन्दर्भमा, कोरियन प्राविधिक टोली सन् २०२५ मे ११ मा नेपाल भ्रमणमा जाने निश्चित भएको छ, जसले नेपालमा रेल परियोजनाको सम्भाव्यतामाथि थप अध्ययन गर्नेछ।






