नेपाली निर्देशक जेसन लोप्चन बुसान एसियन फिल्म स्कूलको छात्रवृत्तिमा छनोट

0
96

 

बुसान, दक्षिण कोरिया — नेपाली युवा निर्देशक जेसन लोप्चन प्रतिष्ठित बुसान एसियन फिल्म स्कूल (AFiS) को छात्रवृत्तिमा छनोट भएका छन्। AFiS ले एसिया भरिका सीमित १८ जना मात्र युवा फिल्म निर्माता तथा निर्देशकहरूलाई छात्रवृत्तिका लागि छनोट गर्ने गर्दछ।

छनोटमा परेका सहभागीहरूले दक्षिण कोरियाको बुसान शहरमा ८ महिनासम्म अध्ययन तथा प्रशिक्षण गर्ने मौका पाउँछन्, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय निर्माता तथा निर्देशकहरूसँग सहकार्य गर्दै आफ्ना चलचित्र परियोजनाहरूको विकास गर्नेछन्।

जेसन लोप्चन हालै नेपालमै पहिलोपटक आइफोन मार्फत खिचिएको चलचित्र निर्देशन गरेर चर्चामा आएका थिए। ‘A Place Under the Sun’ नामक सो चलचित्र हाल एमएसएम भिडियो मार्फत हेर्न सकिन्छ। यसअघि उनले काठमाडौंका मेयर बालेन शाहको चर्चित गीत ‘मार्फाको मदिरा’ को निर्देशन पनि गरेका थिए।

बुसान फिल्म स्कूलमा रहँदै उनले आफ्नो दोस्रो चलचित्रको लेखन तथा पूर्व-निर्माण प्रक्रिया सुरु गरिसकेका छन्। निर्देशक लोप्चनका अनुसार सो चलचित्रको सम्पूर्ण स्क्रिप्ट तथा तयारी बुसानमै हुनेछ भने छायांकन सन् २०२६ मा नेपालमै गरिने योजना रहेको छ।

उनी भन्छन्, “अन्तर्राष्ट्रिय स्तरका निर्माता तथा सहकर्मीहरूसँग काम गर्ने अवसर पाउनु मेरो करियरका लागि नयाँ मोड हो। यो यात्राले नेपाली सिनेमा विश्वसामु चिनाउने मेरो लक्ष्यलाई थप सुदृढ बनाउनेछ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्