काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तर्गत ई.पी.एस कोरिया शाखाले दक्षिण कोरिया जाने सम्पूर्ण व्यक्तिहरूलाई उडानभन्दा १ दिन अगावै E-Arrival कार्ड अनिवार्य रूपमा भर्नु पर्ने सूचना जारी गरेको छ।
उक्त कार्ड भर्ने प्रक्रिया सजिलो बनाउनका लागि व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरी कार्ड भर्न सकिने व्यवस्था गरिएको छ। यो कार्ड भर्ने लिङ्क तलको QR कोड स्क्यान गरी वा सम्बन्धित निकायले उपलब्ध गराएको लिंकबाट पहुँच गर्न सकिनेछ।
E-Arrival कार्ड भरिसकेपछि यो कार्ड ७२ घण्टासम्म मान्य हुनेछ। यदि यात्रुहरूले ७२ घण्टा भित्र कोरियाको अध्यागमनमा उपस्थित हुन सकेनन् भने उक्त कार्ड अमान्य हुनेछ। साथै, बोर्डिङ पास प्राप्त गर्दा E-Arrival कार्डको प्रमाण पेश गर्न अनिवार्य गरिनेछ।
यात्रुलाई विमानस्थलमा हुने कुनै पनि असुविधाबाट बच्नको लागि उडान अगाडि E-Arrival कार्ड दर्ता गर्न कडाइका साथ अनुरोध गरिएको छ। यससँगै कोरिया जान तयार भइरहेका व्यक्तिहरूले समयमा नै यो प्रक्रिया पुरा गर्नुपर्ने सूचनासहित विभागले जानकारी गराएको छ।
थप जानकारीका लागि सम्बन्धित शाखा वा वेबसाइटमा सम्पर्क गर्नुहोस्।