कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सम्पन्न दोश्रो नेपाली कम्युनिटी भलिबल कपको उपाधि गुल्मी सम्पर्क समाजले हात पारेको छ ।
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाद्धारा आयोजित प्रतियोगिताको फाईनल खेलमा सुदुरपश्चिम समाजलाई २-१ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । गुल्मी सम्पर्क समाजले पहिलो २५-१८को अन्तरले जितेको थियो भने दोस्रो सेट सुदुरपश्चिम समाजले २७-२५को अंकका साथ आफ्नो पोल्टामा पारेपनि तेस्रो सेट २५-१३ को अन्तरले हात पारेसँगै गूल्मी सम्पर्क समितिले उपाधि जितेको थियो । खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धि बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका शिशिर विश्वकर्माले १ लाख वन र बेस्ट स्पाइकर करण ओली, वेस्ट लिबेरो कुमार दर्लामी, बेस्ट लिफ्टर बिनेश घर्तीमगरले ५०/५० हजार वन सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी सम्पर्क समाज र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वन प्राप्त गरेका छन् ।
तृतीय स्थानको लागि भएको खेलमा भोजपुरलाइ पराजित गरि मोना कोरियाले ८ लाख कोरियन वन संगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ रहनुभएको थियो । कार्यक्रमको समापन गर्दै समाजका कार्यवाहक अध्यक्ष रुपक केसीले दोश्रो नेपाली कम्युनिटी भलिबल कप लाई सफल बनाउन आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने साथै सहभागी टिम, रेफ्री समूह, विभिन्न व्यवस्थापकीय समूह लगायत कोरियामा रहनुहुने शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।