काठमाडौं –आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ।क्यानडामा हुने सिरिज सेप्टेम्बर १६ (भदौ ३१ गते) देखि सुरू हुँदैछ। त्यहाँ नेपालले सेप्टेम्बर २४ (असोज ८) सम्म लिग-२ को सिरिज खेल्दैछ। त्यसपछि अक्टोबर २ (असोज १६) गतेसम्म टी-२० सिरिज हुनेछ।
क्यानडामा खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ।
अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।
तालिकाअनुसार लिग-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ। लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।
लिग-२ मा अहिलेसम्म नेपालले पहिलो सिरिजको चार खेल खेलेको छ। जसमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।