काठमाडौं – वैदेशिक रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिक १८ महिनादेखि हवाई टिकटमा ठगिए पनि राज्यले नियमन गर्न सकेको छैन । टिकटमा सिन्डिकेट गर्दै आएको कोरियन एयरलाई नेपाली श्रमिकले महँगो मूल्य तिर्न बाध्य छन् । नेपाली ठगिइरहे पनि नेपाल एयरलाइन्सले कोरिया उडानको अनुमति पाउन सकेको छैन ।
नेपालबाट दक्षिण कोरिया सिधा उडान नहुँदा देशले वार्षिक ४७ करोड बढी तिर्नु परिरहेको छ । कोरिया जाने श्रमिकले अहिले काठमाडौं-सिओलको सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाई एकतर्फी भाडा ८९५ डलर अर्थात् एक लाख १९ हजार बुझाउँछन् । जबकि नयाँदिल्ली-सिओल-नयाँदिल्लीको दुईतर्फी उडानको भाडा नै साढे ६ सयदेखि सात सय डलर हाराहारीमा छ । यसरी हिसाब गर्दा वार्षिक ४७ करोडभन्दा बढी रकम श्रमिकको थाप्लोमा भार परिरहेको छ । सिधा उडानका नाममा श्रमिकमाथि आर्थिक शोषण भएको श्रमिक विजय राईको गुनासो छ ।
कोरिया एयरलाइन्सले २०७९ माघदेखि सिधा उडान गरिरहेको छ । नेपाली श्रमिकले चर्को मूल्य तिर्नु परेपछि नेपाल एयरलाइन्सले गत वर्ष दक्षिण कोरियामा सिधा उडानको तयारी थाले पनि अनुमति पाएन, जसको फाइदा कोरियन एयरले उठाइरहेको छ । सन् २०२३ मा मात्रै १९ हजारभन्दा बढी नेपाली युवा ईपीएस प्रणालीमार्फत कोरिया गएका थिए । नेपालदेखि कोरियासम्म श्रमिकको ओहोरदोहोर मात्र होइन पर्यटक आवागमनको सम्भावना भए पनि त्यसको उपयोग नेपालले गर्न सकेको छैन । नेपाल एयरलाइन्सले कोरिया सिधा उडान गर्न सके कोरियन एयरको सिन्डिकेट हट्ने र पर्यटक आवागमन पनि बढ्ने पर्यटन व्यवसायीको भनाइ छ ।
सिधा उडानमा नाममा श्रमिक ठगिएको विषयमा संसदीय समितिले समेत चासो देखिएको छ । गत बिहीबारको बैठकमा समितिका सदस्यहरुले सिधा उडानका नाममा चर्को मूल्यको बोलपत्र समेत स्वीकार गरिएको र सरकारी अधिकारीहरु रमिते बनेको भन्दै आलोचना गरेका थिए । नेपालसँग हवाई सम्झौता गरेको कोरियाले नेपाली वायुसेवाको सुरक्षाप्रति प्रश्न उठाउँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले नेपाल एयरलाइन्सलाई कोरियाले अनुमति नदिएको विषयमा कूटनीतिक संवादमार्फत सुल्झाउन माग गरेका छन् ।
नेपालका लागि कोरियन एयरलाइन्सको जीएसए युनिभर्सल ट्राभल्सले लिएको छ । स्रोतका अनुसार युनिभर्सलकै लबिइङका कारण श्रमिकलाई भार पार्ने गरी नेपाल एयरलाइन्सलाई पन्छाइएको तथा सिधा उडानमा उसलाई मात्रै मिल्ने गरि सूचना तथा बोलपत्र प्रकाशन हुने गरेको छ । यही कुरालाई लिएर अहिले चौतर्फी आलोचना र दबाब बढेपछि योपटक सबैलाई मिल्ने गरी सूचना प्रकाशन गरिएको छ ।
वैदेशिक रोजगारीमा शून्य लागतको नारा लगाउँदै आए पनि कोरिया जाने श्रमिकमाथि हवाई भाडाका नाममा आर्थिक शोषण हुँदा सरकार रमिते बनेको छ । चौतर्फी आलोचनापछि श्रम मन्त्रालयले गत असार अन्तिम साता सिओलसम्म हवाई उडानमा जाने कामदारका लागि टिकट आपूर्तिसम्बन्धमा टेन्डर आह्वान गरेको छ । तर, यो प्रक्रिया पनि कार्यान्वयनको तहसम्म जाने तथा युनिभर्सलबाहेक अन्य सेवा प्रदायकले पाउनेमा आशंका गरिएको छ ।
साभार kantipurtv.com