दक्षिण कोरिया/ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि कोरिया पुग्नुभएको छ । मन्त्री श्रेष्ठ शुक्रवार कोरिया प्रस्थान गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिग्निटरिज र नेपाली राजदूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनुहुनेभएको छ । लगानी सम्मेलन खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठको कोरियन स्पोर्टस् एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा. चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ । भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुने बताइएको छ ।
वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ ।
यसैगरी कोरियन नेसनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिबावलयले जनाएको छ ।