दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘Best Ambassador Award 2026’ सम्मान

0
73

सउल, दक्षिण कोरिया – डा. शिवमाया तुम्बाहाङ्फे लाई कोरियामा ‘Best Ambassador Award 2026’ बाट सम्मानित गरिएको छ। दक्षिण कोरियामा रहेका ११६ देशका कूटनीतिक नियोग तथा दूतावासमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा तीन देशका राजदूतहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सम्मानित हुने राजदूतहरूमा नेपालकी राजदूत डा. तुम्बाहाङ्फे, पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन्। ‘Korea Consumer Brand Awards 2026’ अन्तर्गत आयोजित विशेष समारोहमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, कूटनीतिक प्रतिनिधि तथा ब्रान्ड प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार उपभोक्ता विश्वास, सामाजिक योगदान तथा कूटनीतिक सक्रियताको मूल्याङ्कनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो। सोही क्रममा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन खेलेको सक्रिय भूमिका, नेपाली समुदायसँगको समन्वय तथा कूटनीतिक पहलको कदर गर्दै राजदूत तुम्बाहाङ्फेलाई ‘Best Ambassador Award’ प्रदान गरिएको बताइएको छ।

अवार्ड ग्रहण गर्दै राजदूत तुम्बाहाङ्फेले नेपाल–कोरिया सम्बन्धलाई अझ प्रगाढ, व्यावहारिक र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दुई देशबीच श्रम, शिक्षा, व्यापार, लगानी तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार भइरहेको उल्लेख गर्दै भविष्यमा समेत सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कोरियन पक्षका उच्च प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। पछिल्ला वर्षहरूमा दक्षिण कोरियामा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। यसले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको छ।

उक्त अवार्डलाई नेपालका लागि गौरवको विषयका रूपमा हेरिएको छ। कूटनीतिक क्षेत्रमा नेपालको सक्रिय उपस्थिति र योगदानको अन्तर्राष्ट्रिय स्तरमा भएको यो सम्मानले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्