सोल, दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले संघभित्रको एकताको विषयमा आफ्नो धारणा स्पष्ट गर्दै दक्षिण कोरियाको हकमा हालसम्म कुनै औपचारिक सहमति नभएको जनाएको छ।
एनआरएनए दक्षिण कोरियाले जारी गरेको प्रेस विज्ञप्तिमा विश्वव्यापी रूपमा अघि बढिरहेको एनआरएनए एकताको अभियानप्रति आफू सधैं सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। वर्तमान कार्यसमितिले पनि एनआरएनएलाई एकताबद्ध बनाउँदै अघि बढ्ने पक्षमा दृढ अडान राखेको जनाइएको छ।
आगामी मार्च महिनामा आयोजना हुने एकता अधिवेशनलाई केन्द्रमा राख्दै केन्द्रीय पदाधिकारीहरूको दक्षिण कोरिया भ्रमणका क्रममा सहमतिका विषयमा छलफल भएको भए पनि दक्षिण कोरियामा हालसम्म कुनै औपचारिक एकता वा सहमति भएको भन्ने भ्रम सत्य नभएको स्पष्ट पारिएको छ।
संघले दक्षिण कोरियाको सन्दर्भमा सदस्यता व्यवस्थापन, आर्थिक पारदर्शिता र संस्थागत संरचनाजस्ता विषयहरू समाधान नगरी संगठनात्मक एकता सम्भव नहुने धारणा व्यक्त गरेको छ। यस्ता आधारभूत विषयहरू टुंग्याएपछि मात्र दिगो र संस्थागत एकता सम्भव हुने बताइएको छ।
एनआरएनए दक्षिण कोरियाले एनआरएनएलाई बलियो, एकताबद्ध र संस्थागत बनाउने उद्देश्यसहित आगामी दिनमा सबै सरोकारवालासँग छलफल गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।






