बुसानस्थित नेपाली समुदाय (NCB) ले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको छाता संगठन SONSIK (Society of Nepalese Students in Korea) सँग सहकार्य गर्दै नेपालमा हालैको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम आयोजना गरेको छ।
यो भावनात्मक श्रद्धाञ्जली कार्यक्रम बुसानको क्युङसुङ विश्वविद्यालय (Kyungsung University) परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली विद्यार्थी, समुदायका सदस्यहरू, मित्रराष्ट्रका विद्यार्थीहरू तथा सहयोगीहरूले भेला भई दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, पीडित परिवार, आन्दोलनमा सहभागी युवाहरू र सम्पूर्ण नेपाली जनताप्रति गहिरो ऐक्यबद्धता प्रकट गरे।
कार्यक्रमका आयोजकहरूले असामयिक रूपमा ज्यान गुमाएका युवा विद्यार्थीहरूको बलिदानलाई व्यर्थ हुन नदिनुपर्नेमा जोड दिँदै नेपालको वर्तमान राजनीतिक, सामाजिक र भावनात्मक संकट समाधान गर्न शान्ति, एकता र सहअस्तित्वको आवश्यकता रहेको उल्लेख गरे।
NCB र SONSIKले विगतदेखि नै कोरियामा रहेका नेपाली समुदायलाई सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिमार्फत जोड्दै आएकोमा, यसपटकको श्रद्धाञ्जली कार्यक्रमले समुदायलाई एउटै मञ्चमा ल्याएर स्वदेशप्रतिको माया, सम्झना र आशाको भाव प्रकट गर्ने अवसर दिएको सहभागीहरूले बताए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्युङसुङ विश्वविद्यालयप्रति आयोजकहरूले विशेष आभार व्यक्त गरे। साथै, श्रद्धाञ्जली अर्पण गर्न समय निकालेर उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो।







