नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू निरन्तर सडकमा प्रदर्शनमा उत्रिएका थिए।
बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र राजनीतिक असन्तोषका कारण सुरु भएको यो आन्दोलन छोटो समयमै व्यापक बनेको हो। आन्दोलनमा भएको मृत्यु र घाइतेहरूको घटनाले देश शोकमा डुबेको छ भने अन्तर्राष्ट्रिय समुदाय पनि चिन्तित बनेको छ।
यसैबीच, विदेशमा रहेका नेपालीहरूले घाइतेहरूको उपचारमा सहयोग पुर्याउन अभियान सुरु गरेका छन्। दक्षिण कोरियामा रहेको MRR Korea समूहको नेतृत्वमा सुरु भएको अभियानका लागि वूरी बैंकको खाता सार्वजनिक गरिएको छ। अभियानमा समन्वयकर्ताहरूका सम्पर्क नम्बरहरू पनि उपलब्ध गराइएको छ।
अभियान सुरु भएको केही घण्टामै सहयोग रकम उल्लेखनीय दरले बढेको छ। मध्यान्ह १२:३० बजेसम्मको तथ्यांकअनुसार २१,८००,००० कोरियन वोन (झण्डै २१ लाख नेपाली रुपैयाँ) संकलन भइसकेको छ। संयोजकहरूले राति ९ बजेपछि अर्को अपडेट दिने जनाएका छन्।
‘Gen Z को विद्रोह’ भनेर चिनिएको यस आन्दोलनमा भएको ठूलो जनहानि र हिंसात्मक घटनापछि तत्काल प्राथमिकता भनेकै अस्पतालमा उपचाररत घाइतेहरूलाई जीवनरक्षक उपचार उपलब्ध गराउनु रहेको बताइएको छ। विदेशमा रहेका नेपालीहरूको सक्रियताले यस कठिन अवस्थामा राहत पुर्याउने अपेक्षा गरिएको छ।






