कोरियामा नेपाली श्रमिक तुल्सि पुन मगरको मृत्यु औद्योगिक दुर्घटना घोषणा गर्दै कानुनअनुसार क्षतिपूर्ति दिने निर्णय गरेको छ।

0
349

दक्षिण कोरियाको यङाम (전남 영암) स्थित एक सुगुर फर्ममा कार्यरत नेपाली प्रवासी श्रमिक तुल्सि पुन मगरलाई फर्म मालिक र टोली प्रमुखको कुटपिट र दुर्व्यवहारका कारण गत फेब्रुअरी २२ मा आत्महत्या गर्न बाध्य बनाइएको थियो।

यस घटनापछि प्रवासी श्रमिकहरूको अधिकारका लागि संघर्षरत एमटियु (Migrants’ Trade Union) ले कडा कानुनी सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। साथै, तुल्सि पुन मगरको मृत्यु कार्यस्थलमै भएको दुर्व्यवहार र कुटपिटकै कारण भएको भन्दै औद्योगिक दुर्घटना बीमा कार्यालयमा औद्योगिक दुर्घटनाको आधारमा मृत्यु घोषणा गरी तोकिएको क्षतिपूर्ति दिलाउन आवेदन दिएको थियो।

गत २० तारिखमा अदालतले दोषी फर्म मालिकलाई जेल सजाय दिने फैसला गरेको थियो भने, आज अगस्ट ३० मा औद्योगिक दुर्घटना बीमा कार्यालयले पनि तुल्सि पुन मगरको मृत्युलाई “फर्म मालिकको कुटपिट र सताइको कारण भएको औद्योगिक दुर्घटनाको मृत्यु” भनेर स्वीकार गर्दै कानुनअनुसार क्षतिपूर्ति दिने निर्णय गरेको छ।

कोरियामा फर्म मालिकको कुटपिट र दुर्व्यवहारका कारण प्रवासी श्रमिकले आत्महत्या गर्नुपरेको र त्यसलाई औद्योगिक दुर्घटनाको रूपमा मान्यता दिइ क्षतिपूर्ति दिने निर्णय भएको यो पहिलो घटना हो।

एमटियुले यस घटनालाई प्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण, दमन र भेदभावविरुद्धको संघर्षको महत्वपूर्ण उपलब्धि भन्दै आगामी सेप्टेम्बर २१ आइतबार सउलस्थित उल्चिरो ३-गा श्रम मन्त्रालय अगाडि आयोजना हुने प्रवासी श्रमिकहरूको जुलुसमा सबै श्रमिकलाई सहभागिता जनाउन आह्वान गरेको छ।

एमटियुका अध्यक्षले यो जानकारी दिएका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्