सोल, दक्षिण कोरिया — दक्षिण कोरियाका रोजगार तथा श्रम मन्त्री किम यङहुनले देशभरका कार्यस्थलहरूमा उद्योग दुर्घटना, तलब बक्यौता र भेदभाव जस्ता अन्यायपूर्ण घटनाहरू पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।
गत ७ अगस्टमा मैइल रोजगारी समाचार सँगको अन्तर्वार्तामा उनले भने, “काम गर्न गएका मानिस मरेर फर्किनु हुँदैन, काम गरेर तलब नपाउनु हुँदैन, समान काममा भेदभाव हुनु हुँदैन—यी तीन कुरा अन्त्य गर्नु नै हाम्रो श्रम नीतिको आधार हो।”
मन्त्री किमले हालैको मन्त्रिपरिषद् बैठकमा यदि उद्योग दुर्घटनामा हुने मृत्यु घटाउन असफल भए, मन्त्री पद त्याग गर्ने प्रतिज्ञा गरेका थिए। उनको पहिलो लक्ष्य यसै वर्षको अन्त्यसम्म मृत्यु दरको वृद्धि रोक्नु रहेको छ। यसका लागि प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयलाई दुर्घटना न्यूनीकरण योजना पेश गर्न निर्देशन दिइसकेको छ।
१९९२ मा रेल इन्जिन चालकको रूपमा करिअर सुरु गरेका किम यङहुन २००४ मा रेल्वे श्रमिक सङ्घका अध्यक्ष बने र २०१० देखि २०१२ सम्म कोरियाली ट्रेड युनियन महासंघ (KCTU) का अध्यक्षसमेत भइसकेका छन्। राष्ट्रपति इ जे–म्यङसँग उनको सम्बन्ध सुङनाम सहरको मेयरकालमा भएको ‘ह्वा–वा–तल’ अध्ययन समूहबाट सुरु भएको हो।






