“नजिकबाट नियालेको नेतृत्व: बुद्धि गुरुङ र एनआरएनए यात्रा”

0
191

बुद्धि गुरुङ—एक यस्ता नाम जसले नेतृत्वको अर्थलाई जिम्मेवारी, त्याग र सेवाको जीवन्त उदाहरणमा रूपान्तरण गरे। विषम परिस्थितिमा पनि समुदायप्रति उहाँले देखाउनुभएको समर्पण केवल सम्झना होइन, इतिहास बन्ने छ भन्नेमा कुनै शंका छैन।

जब समाजका केही प्रश्नहरू उठाइन्छन् “एनआरएनए दक्षिण कोरियाले के गर्‍यो?” भन्ने—त्यति बेला बुद्धि गुरुङको कार्यकाल नियाल्ने हो भने उत्तर स्पष्ट देखिन्छ। अस्पतालको शैयामा अड्किएका श्रमिक, अन्तिम पलमा आफन्तको मुहार देख्न नपाएका मृतकका शव, वा मानसिक सन्तुलन गुमाएका प्रवासीहरूसँग उहाँले साटेका वेदनाहरू कुनै आरोप-प्रत्यारोपभन्दा सयौं गुणा महत्त्वपूर्ण थिए।

अध्यक्ष बनेपछि ६ वटा रेस्टुरेन्टको व्यवसायलाई उहाँले आफ्नो प्राथमिकताबाट हटाउनुभयो। भर्खरै हुर्किँदै गरेका छोराहरूसँग बिताउने समय, जीवनसाथीसँग साट्ने दुई क्षणसम्म त्यागनु भयो किनकी—एकमात्र लक्ष्य थियो, एनआरएनएलाई जीवन्त बनाउने, संकटमा परेका नेपालीलाई अँगालोमा समेट्ने।

दक्षिण कोरियाको एनआरएनए इतिहासमै पहिलोपटक आयोजित सबैभन्दा ठूलो पुरस्कार राशीका खेलकुद प्रतियोगिताले हजारौँ युवाको जोश जगायो। कोरियन भूमिमा नेपाल डे सुरु भयो—जहाँ संस्कृति मात्र हैन, पहिचानले बोल्न पायो।

उहाँको व्यक्तित्व सरल, विनम्र र ठेट छ। मीठो बोलीले कसैलाई फसाउने प्रवृत्ति छैन, चिप्ला कुरा उहाँलाई आउँदैन।
आफ्नो व्यवसायिक सफलतालाई कहिल्यै देखावटी बनाउनु भएन। साना ठूला जुनसुकै संस्थाका कार्यक्रममा बोलाए भने पुगिहाल्ने उहाँको बानी थियो। भाषण पनि भाषागत सौन्दर्यमा लपेटिएको हुन्थेन—ठेट, सत्य र मुटु छुने खालको हुने थियो।

उहाँको खटाई सउल र सुवन मात्रमा सीमित थिएन। जेजुदेखि बुसान, थेगु, मोक्पो, गजेदो, छन्जु, थेजनसम्म—कोरियाका लगभग सबै भूगोल उहाँको उपस्थितिका साक्षी थिए। कम्पनीको दुर्ववहारमा परेर आत्माहत्या गर्न बाध्य तुलसी पुनको घट्नामा उहाँको उपस्थिति देखि अस्पतालमा पुगेका, बिरामीका लागि आर्थिक सहयोग जुटाउने, अफ्ठ्यारा परिस्थितिमा परेका विद्यार्थीहरूको सहजीकरण गर्ने काममा उहाँ अग्रपंक्तिमा देखिनुभयो।

उहाँको कार्यकालमा एनआरएनको उपस्थिति केवल ‘संस्थागत’ थिएन, त्यो ‘भावनात्मक’ थियो संकटमा परेकाको आँखाबाट खस्ने आँशु पुछ्ने हात थियो। उहाँ सबैसँग एउटै व्यवहार गर्नुभयो मिलनसार, सादगीपूर्ण र आत्मीय। तर, विडम्बना समाज सधैं राम्रो देख्न सक्दैन, राम्रालाई राम्रै भन्न हिच्किचाउँछ।

बुद्धि गुरुङ गुरुङ समुदायको मात्र होइन, सम्पूर्ण प्रवासी नेपालीको गौरव हो। उहाँको नेतृत्वले देखायो कि अभावको भूमिमा पनि सेवा, समर्पण र मानवीयताले हामीलाई एक सूत्रमा बाँध्न सक्छ।

नेतृत्व सधैँ पूर्ण हुँदैन। गल्ती त जहाँ पनि हुन्छन्। उहाँको कार्यकालमा पनि कमजोरी थिए होलान्। सबै जनालाई चित्त बुझ्ने निर्णय लिन कहिल्यै सम्भव हुँदैन। तर त्यो कमजोरी उहाँको कमजोरी थिएन—त्यो नेतृत्वको शुद्ध प्रक्रिया थियो।
उहाँ सिक्न चाहनुहुन्थ्यो, स्वीकार्न जान्नुहुन्थ्यो, सुधार्न तत्पर हुनुहुन्थ्यो। त्यस्तो नेतृत्व विरलै भेटिन्छ।

आजको यो सम्मान, बधाई र कदर उहाँका ती हरेक निस्वार्थ कामहरूको प्रतीक हो, जुन शब्दले मात्र होइन, आत्माले महसुस गर्न सकिन्छ।

हुनत, एनआरएनएका मुद्दाहरू फरक होलान्।
सैद्धान्तिक रूपमा पूरा गर्नुपर्ने थुप्रै कामहरू अझै थाती रहेका होलान्। तर त्यो सबैको लागि परिस्थिति मिल्नुपर्ने थियो।
सैद्धान्तिक काममा परिस्थिति नमिले पनि व्यवहारिक जिम्मेवारी उहाँले पूरा गर्नुभएको छ।

जे गरेपनि दु:ख बुझेपनि, सुख बाँडेपनि उहाँले कहिल्यै सामाजिक सञ्जालमा देखाउन जान्नु भएन।समाज र समाजका अगुवाहरूले उहाँलाई कसरी बुझ्नुभयो? त्यो त उहाँकै अनुुभव होला।तर मेरो नितान्त व्यक्तिगत बुझाइमा, बुद्धि गुरुङ भुइँमान्छेको नेतृत्व भएर काम गर्नुभयो।उहाँको नजर सधैं जमीनमा थियो—मानिसका पीडामा, हर्षमा र आशामा।

सत्य सरल हुन्छ, त्यसैले प्रभावशाली हुन्छ। बुद्धि गुरुङको नेतृत्व त्यसैको उदाहरण हो। उहाँ जस्ता व्यक्तित्वहरू सम्मानित मात्रै होइन, सम्झन योग्य पनि हुन्—किनभने उहाँले “नेता” शब्दलाई साँचो अर्थमा जिएर देखाउनुभयो।

डा. कमला केसी
प्रधान सम्पादक न्युज केन्द्रबिन्दु
अत्यन्तै गर्वकासाथ हार्दिक बधाई!

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्