दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन : इ जे म्यङ विजयी, कोरियाभर उत्साह

0
112

सिउल, जुन ३ — हिजो सम्पन्न दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन्। उनले कुल खसेको मतको ४९.४२ प्रतिशत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी पिपुल्स पावर पार्टीका किम मुन्सुलाई पछि पारेका हुन्। किमले ४१.१६ प्रतिशत मत प्राप्त गरे।

हिजो बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म चलेको मतदानमा ७९.४ प्रतिशत मतदाता सहभागी भएका थिए। यो दर सन् २०२२ को निर्वाचनको ७७.१ प्रतिशत भन्दा उच्च हो। कुल ४ करोड ४३ लाख ९१ हजार ८७१ मतदाता मध्ये ३ करोड ५२ लाख ४० हजार ४१६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

सामान्यतः निर्वाचित राष्ट्रपतिले २ महिनाको संक्रमण अवधिपछि मात्र पदभार ग्रहण गर्ने प्रावधान छ। तर यसपटक नव निर्वाचित राष्ट्रपति इ जे म्यङले तत्कालै कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

उनी राष्ट्रपतिको रूपमा विजयी भएपछि कोरियाभर उत्साहको वातावरण छाएको छ। लामो समयदेखि राजनीतिक र आर्थिक अस्थिरता झेल्दै आएको देशमा अब स्थिरता र समृद्धि आउने अपेक्षा गरिएको छ।

विदेशी समुदायका लागि समेत इ जे म्यङको विजय सकारात्मक संकेतको रूपमा लिइएको छ। विभिन्न भिषामा कोरियामा बसोबास गरिरहेका विदेशी नागरिकहरूप्रति उदार धारणा राख्ने नेताका रूपमा परिचित इ जे म्यङ राष्ट्रपति बनेपछि विदेशी समुदाय पनि खुसी भएको जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्