‘पाँच स’ दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

0
51

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) को आठौँ अधिवेशन तथा साधारण सभा आगामी जनवरी २६ तारिखमा हुने भएको छ ।
“साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको पाँच सले नेपाली कला, धर्म, संस्कार, र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । कार्यक्रम आनसान स्थित सांस्कृतिक घरमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । अहिले कार्यक्रमको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभएको छ ।
पाँच सले विगत लामो समयदेखि राष्ट्र र राष्ट्रियता झल्काउने विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसले नेपाली चाडपर्वहरूलाई भव्यताका साथ मनाउँदै नेपाली समुदायमा सकारात्मक, अनुकरणीय, र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।
दक्षिण कोरियाको आनसान शहरमा साझेदारीमा मन्दिर र पुस्तकालय सञ्चालन गर्दै आएको पाँच सले आनसान लाइब्रेरीमा दर्ता भएको पुस्तकालयमार्फत ५ हजार भन्दा बढी पुस्तकहरू उपलब्ध गराएको छ । यस पुस्तकालयले विदाको समयमा नेपालीहरूलाई अध्ययनमा रुचि जगाउन सहयोग पुर्‍याउँदै आएको छ ।
विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गर्दै संकलित रकमबाट समुदायको विकासमा योगदान दिँदै आएको पाँच सले अधिवेशनलाई सभ्य, भव्य, र मर्यादित तरिकाले सम्पन्न गर्न दक्षिण कोरियामा सक्रिय विभिन्न दल, संघ–संस्था, व्यवसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, र शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रमले नेपाली कला, धर्म, र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै कोरियामा रहेका नेपाली समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्