दक्षिण कोरिया –
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा सञ्चालित काव्य-सुधा १६७ औं शृङ्खला अन्तर्गत महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा शुभ दिपावली २०८१, नेपाल सम्वत र छठ पर्वको अवसरमा कविता वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०२४ अक्टोबर २७ तारिख साँझमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
वरिष्ठ साहित्यकार चन्द्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि गोमा रेग्मी, कवि ईन्द्र प्रसाद न्यौपाने तथा कवि कृतिका कोईराला विशेष सहभागिता रहेको थियो । जुम मार्फत सञ्चालन भएको कार्यक्रम संस्थाको फेसबुक पेजबाट लाइभ प्रसारण गरिएको थियो ।
जेएफआर रेमिटान्सले व्यानर स्पोन्सर गरेको कार्यक्रम नेपाली समयअनुसार साँझ छ बजेबाट सुरु भएसंगै अतिथि स्रष्टाहरुले तीन चरणमा आफ्ना चार कविताहरु सुनाउनु भएको थियो । कविता वाचनको पहिलो चरणमा कवि गोमा रेग्मीले “प्यारो अनेसास होस” र “अन्तरआकाश” शिर्षकका कविता सुनाउनुभएको थियो । यसैगरी पहिलो चरणमा कवि ईन्द्र प्रसाद न्यौपानेले “सम्वृद्ध नेपाल” र “कुल खानदानका कुरा” शिर्षकका कविताहरु तथा कवि कृतिका कोईरालाले “पुतली र भमराको संवाद,” “वृक्ष र पालुवाको कहानी” शिर्षकका कविता सुनाउनुभएको थियो । दोस्रो र तेस्रो चरणमा कवि गोमा रेग्मीले क्रमश “नेपाल सम्झन्छु म” तथा प्रमुख अतिथि चन्द्र प्रसाद न्यौपानेको “यस्तो नेता बनुँ” शिर्षकका कविता सुनाउनुभएको थियो। दोस्रो तथा तेस्रो चरणमा कवि ईन्द्र प्रसाद न्यौपानेले “के देश बाँच्ला” अब तथा “आमा” शिर्षकका कविता सुनाउनुभएको थियो। कवि कृतिका कोइरालाले दोस्रो र तेस्रो चरणमा क्रमश “कवि स्वयं कविता” तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको “बर्षा” शिर्षकका कविता बाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्र प्रसाद न्यौपाने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र सृजनाहरुमा प्रकाश पार्दै अतिथि स्रष्टाहरुका कविताको समीक्षा गर्नुभएको थियो। यसैगरी विशिष्ट अतिथि सर्वज्ञ वाग्लेले महाकवि देवकोटा सम्झना स्वरुप देवकोटाका कविताको छोटो अंश सुनाएर आफ्नो कविता वाचन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
अनेसास कोरिया च्याप्टर अध्यक्ष लोकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले गर्नुभएको थियो भने कार्यक्रम सहजकर्ता संस्थाका महासचिव राजेश सुवेदी रहनुभएको थियो ।
कार्यक्रममा सञ्चार सहकार्य गर्नुहुने मिडियाहरुमा सेतोमाटो, न्युज केन्द्रविन्दु, रेडियो गोर्खाली, कोरिया पाटी र बिसाल आवाज रहनुभएको थियो । यसैगरी कार्यक्रमको व्यानर संस्थाका सदस्य तथा साहित्यकार दिपकराज बन्जाडेले तयार गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका अनेसास कोरिया च्याप्टर अध्यक्ष लोकराज न्यौपानेले कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने तथा फेसबुक लाईभमा जोडिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै महाकवि देवकोटाको स्मरण सहित आफ्नो कविता सुनाएर कार्यक्रम समापन गर्नुभएको अनेसास कोरिया च्याप्टरका महासचिब राजेश सुवेदीले जानकारी दिनुभयो ।