काठमाडौँ — हरेक वर्ष चाडबाडमा महँगी बढ्ने गरेको छ । खाद्यवस्तुको माग बढेको मौका छोपेर व्यवसायीले मूल्य पनि बढाउँदै आएका छन् । तर अहिलेको बजारभाउ हेर्दा चाडबाडकै झल्को दिन्छ, जब कि दसैं आउन अझै दुई महिना बाँकी छ । सरकारले चालु आर्थिक वर्षदेखि दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लगाएपछि बजारभाउ उकालो लाग्न थालेको हो । कर नलागेका वस्तुमा पनि अस्वाभाविक मूल्यवृद्धि भएको छ ।
व्यवसायीका अनुसार अग्रिम आयकर लागू भएको खाद्यवस्तुको मूल्य कम्तीमा १० प्रतिशतसम्म बढ्छ । तर बजार मूल्य भने मनोमानी रूपमा बढेको छ । ‘एक/डेढ महिनाअघि प्रतिबोरा २१/२२ सय रुपैयाँ पर्ने चामल अहिले बढेर २८ सय रुपैयाँसम्म पुगेको छ । सबैभन्दा बढी खपत हुने जिरा मसिनो चामलको भाउ अचाक्ली बढेको छ । बासमती चामलको मूल्य पनि होलसेलमै प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको छ,’ नाम उल्लेख गर्न नचाहने एक खुद्रा व्यापारीले भने, ‘दाल, गेडागुडीको अवस्था पनि उस्तै छ ।’
उनका अनुसार भाउ किन बढ्दै छ भन्ने खुद्रालाई जानकारी हुँदैन । ‘होलसेलले बढाएर दिएपछि त्यही मूल्यमा बेच्न बाध्य छौं,’ ती व्यापारीले भने । उनका अनुसार दालको मूल्य प्रतिकिलो १०/१५ रुपैयाँले बढेको छ । चिनीको मूल्यमा त झन् मनोमानी भएको छ । जबकि चिनीमा अग्रिम आयकर लगेको छैन ।
सरकारले कच्चा दाल, गेडागुडीमा १० प्रतिशत र धान आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको छ । मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा २.५ प्रतिशत आयकर लगाइएको छ । त्यसको केही असर परे पनि बजारभाउ धेरै बढेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले बताए । ‘अग्रिम आयकरले केही असर गरे पनि कर नलागेका खाद्य वस्तुको मूल्य पनि बढेकोज्ञ छ,’ उनले भने, ‘खुद्रालाई होलसेल व्यापारीले भाउ बढ्यो भनेपछि थाहा हुन्छ, मूल्य बढाउनुमा साना व्यापारीको हात हुँदैन ।’
बजारभाउ अग्रिम करले नै बढेको हो या अन्य कारणले भन्नेबारे नियमनकारी निकायले अनुगमन गर्नुपर्ने तुलाधरले बताए । ‘मौज्दात खाद्यमा भाउ बढेको हो, होइन अध्ययन गर्नुपर्छ,’ उनले भने । साना व्यापारीक फर्ममा मात्रै अनुगभन भएको उनको भनाइ छ ।
सरकारी निकायसँगको छलफलमा उद्योगी, होलसेल व्यवसायीले उपत्यकाका लागि कम्तीमा ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताउँदै आएका छन् । तर, केही सामान्य घटना हुँदा बजार भाउ बढेको छ । ‘अनैतिक कार्य गर्नेलाई छुट दिनु भएन । तर सरकारले साना व्यापारीलाई कारबाही गरेर ठुलालाई उन्मुक्ति दिएको छ,’ महासचिव तुलाधारले भने ।
खुद्रा व्यापार संघका अनुसार गत असारमा त्रिशूलीको पोखरेली चामलको प्रतिकिलो मूल्य १०५ रुपैयाँ थियो । साउनमा बढेर ११० रुपैयाँ पुगेको छ । स्टिम जिरा मसिनोको मुल्य प्रतिकिलो १०० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । त्यस्तै, असारमा प्रतिकिलो २२० रुपैयाँमा बिक्री भएको मासको दाल बढेर २३० रुपैयाँ, किलोको १६० पर्ने मुसुरो १ सय ६५ रुपैयाँ, ३ सय पर्ने एनपी रहर दाल बढेर ३ सय २० रुपैयाँ पुगेको छ । चना दालको मूल्य किलोमा २० रुपैयाँ बढेर १ सय ७०, सानो चनाको मूल्य १ सय ५० बाट बढेर १ सय ७० रुपैयाँ पुगेको छ ।
यीबाहेक सेतो सिमी, बोडी, डाल्डा घिउ, जिरा पाउडर, बेसन, ज्वानो, सुजीलगायतको मूल्य पनि बढेको छ । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नमा मूल्य बढ्नुको एक मात्रा कारण अग्रिम आयकर भएको बताए । चामलको हकमा अग्रिम करसँगै भारतले भन्सार लगाएपछि यहाँ असर परेको बताए । ‘भारतले ६ महिनाअघि लङ ग्रेन चामलमा २० प्रतिशत भन्सार लगायो । अहिले सबै चामलमा लगाएको अवस्था छ । धान आयातमा समेत अग्रिम कर लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यही कारण मूल्य बढेको छ । त्योबाहेक अन्य कारण छैन ।’
नेपाल चामल तेल दाल उद्योग संघले पनि सरकारकै नीतिका कारण बजारभाउ बढेको जनाएको छ । चामल, दाल, गेडागुडी र कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकाले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन संघले माग गर्दे आएको छ । सरकारकै नीतिकै कारण दालमा २० प्रतिशत तथा चामलमा प्रतिबोरा १०० रुपैयाँ मूल्य बढ्ने उनीहरूले बताउँदै आएका थिए । तर संघले भनेभन्दा बजारभाउ उच्च दरले बढेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना अत्यावश्यक वस्तुमा बाहनाबाजी गरेर मूल्य बढाइएको बताउँछन् । सहज आपूर्तिका लागि कूटनीतिक पहलमार्फत बजारमूल्य नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘सर्वसाधारणको भान्सासँग जोडिएको खाद्यन्नमा सरकारले नजरअन्दाज गरेको छ । स्रोतमा अनुगमन गरेर वास्तविकता पहिचान गर्नुपर्छ,’ तिमिल्सिनाले भने, ‘बजारमा मूल्यवृद्धि भएको छ, कालोबजारी भएको छ । तर जनताले सरकारको प्रत्याभूति गर्न पाएनन् ।’
अग्रिम आयकर लगाउने सरकारी निर्णयले व्यवसायीले मास, मुसुरो र चना आयात गरेका थिएनन् । तर बजारमा भने स्टककै सामानमा मूल्य बढाइएको थियो । यसले पनि बजारमा कालोबजारी भएको पुष्टि गर्ने तिमिल्सिनाको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले मूल्य बढ्नुको मुख्य कारण अग्रिम आयकर भएको बताए ।
‘बजार अनुगमन गर्दा पनि अग्रिम आयकरले मूल्य बढेको देखिन्छ । अनुगमनकै कुरा गर्दा चामल, दाल, गेडागुडीमा गरेका छौं,’ उनले भने, ‘करको दर बढेर बजारभाउ बढेको छ । बजारमा समस्या देखिएको छ । मूल्य कसरी नियन्त्रण गर्ने, कसरी घटाउने ठूलो चुनौती छ । अब बिलबिजक हेरेर अनुगमन गर्छौं ।’
कान्तिपुर दैनिकवाट साभार