कुरा २०१८ सालको हो। जलस्रोत कार्यालयका कर्मचारी काठमाडौंबाट कैलाली आउनुपर्ने भयो।
त्यो बेला कर्णालीवारि नेपालसँग सुदूरपश्चिम क्षेत्र जोड्ने पुल थिएन। ती कर्मचारी भारतीय बाटो हुँदै तिकुनिया आए। तिकुनिया सीमावर्ती भारतीय बजार हो।
त्यस बेला जलस्रोतकै कर्मचारी रहेका गुरुप्रसाद लिम्बूले तिकुनियाबाट पैदल हिँडाएर उनीहरूलाई चिसापानी पुर्याए।
त्यसकै केही वर्षपछि लिम्बूले चिसापानीमा होटल पनि खोले। त्यसपछि अन्य केही व्यक्तिले पसल खोले।
त्यसबेला बर्दियापट्टि कर्णालीका किनारमा बस्ती थियो। हुम्ला, जुम्ला, कालिकोट, दैलेख, अछाम, बाजुरा लगायतका जिल्लाबाट मानिसहरू किनमेल गर्न त्यहाँ पुग्थे।
कर्णाली किनारको त्यो बस्तीका जानकार हर्कबहादुर रावलका अनुसार सन् १९७६ मा ‘कर्णाली वन्यजन्तु आरक्ष’ स्थापना भएपछि बस्ती अन्यत्रै सारियो। त्यही आरक्ष सन् १९८२ मा ‘बर्दिया वन्यजन्तु आरक्ष’ भयो अनि सन् १९८८ मा ‘बर्दिया राष्ट्रिय निकुञ्ज’ घोषणा भयो।